बाढीले तहसनहस बनाएका मुख्य सडक खुलाउन २० वटा भारी उपकरण परिचालन, भारत र चीनबाट बेलिब्रिज आउने
भोटेकोशीको बाढीले रसुवामा करिब ४० किलोमिटर सडक र २१ वटा पुल पूर्ण रूपमा क्षतिग्रस्त बनाएपछि सरकारले यातायात सञ्चालन गर्न युद्धस्तरमा पुनःनिर्माण अघि बढाएको छ।
काठमाडाैँ । भोटेकोशी (त्रिशूली) नदीमा आएको विनाशकारी बाढीका कारण देशका प्रमुख यातायात मार्गहरूमा ठूलो क्षति पुगेको छ। बाढीले विशेष गरी उत्तरी नाका जोड्ने रसुवा खण्ड र देशको जीवनरेखा मानिने पृथ्वीराजमार्गमा ठूलो असर पारेको छ। यस विषम परिस्थितिमा अवरुद्ध सडक सञ्चालनमा ल्याउन सरकारले युद्धस्तरमा काम अघि बढाएको छ।
पूर्वाधार विकास मन्त्रालयका अनुसार भोटेकोशीको बाढीले रसुवामा करिब चालीस किलोमिटर सडक पूर्ण रूपमा बगाएको छ। वेत्रावतीदेखि मैलुङ हुँदै स्याफ्रुबेँसी रसुवागढी जोड्ने मुख्य सडक मार्ग नै अवरुद्ध भएको छ। यस्तै, गल्छीदेखि त्रिशूलीसम्मको करिब दश किलोमिटरसम्मको सडकसमेत अहिले पूर्ण रूपमा बन्द अवस्थामा छ।
सडक मात्र होइन, बाढीले भौतिक पूर्वाधारमा पनि ठूलो क्षति पुर्याएको छ। देशभर बाढीका कारण ४१ वटा पुलहरू पूर्ण रूपमा क्षतिग्रस्त भएका छन्। यसले गर्दा स्थानीय जनजीवन मात्र नभई सीमावर्ती व्यापार र आवतजावतसमेत ठप्प बनेको छ।
युद्धस्तरमा पुनःनिर्माण र बेलिब्रिज जडान
अवरुद्ध यातायात सेवालाई छिटोभन्दा छिटो सुचारु गर्न सरकारले उद्धार र पुनःनिर्माणको कामलाई पहिलो प्राथमिकतामा राखेको छ। मन्त्रालयका अनुसार अहिले पृथ्वीराजमार्गअन्तर्गत थुप्रिएको करिब तेह्र किलोमिटर लेदो हटाउने काम भइरहेको छ।
क्षतिग्रस्त पुलहरूको विकल्प दिन सरकारसँग मौज्दात रहेका ५० मिटर लम्बाइका ७ वटा बेलिब्रिज आवश्यकताका आधारमा जडान गर्न थालिएको छ। यसका साथै छिमेकी मुलुकहरू भारत र चीन सरकारबाट पनि आवश्यक बेलिब्रिज तत्काल उपलब्ध गराउने प्रतिबद्धता आइसकेको छ।
यातायात सञ्चालनको नयाँ प्राथमिकता
पहिलो चरणमा पृथ्वीराजमार्गलाई पूर्ण रूपमा सञ्चालनमा ल्याउने र रसुवालाई पुन: सडक सञ्जालसँग जोड्ने गरी काम भइरहेको छ। हाल वेत्रावतीसम्मको सडक अवरुद्ध रहेकाले धुन्चे हुँदै स्याफ्रुबेँसी पुग्न सक्ने अवस्था छैन। यसैलाई मध्यनजर गर्दै वेत्रावतीमा बेलिब्रिज राख्ने तयारी तीव्र पारिएको छ।
सडक खुलाउने यो महाअभियानलाई गति दिन राज्यको एक्लै भर नपरी निजी क्षेत्रलाई पनि सामेल गरिएको छ। सरकारले उपलब्ध गराएका १० वटा र निजी क्षेत्रका १० वटा गरी कुल २० वटा भारी उपकरणहरू दिनरात खटाइएका छन्। क्षतिग्रस्त संरचनाहरूको छिटो पुनःनिर्माण गरी जनजीवनलाई सहज बनाउन मन्त्रालयले सबै स्रोत र साधन केन्द्रित गरेको छ।














