११ भदौ २०८३, बिहिबार

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ६ घण्टामै जम्मा भयो २७ करोड ३३ लाख



काठमाडौँ । रसुवा बाढी प्रभावित क्षेत्रमा राहत, उद्धार, खोजी तथा पुनर्स्थापनाका लागि ‘प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष’ मा विभिन्न संस्था तथा कम्पनीहरूबाट प्राप्त आर्थिक सहयोग रकम अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले एकद्वार प्रणालीमार्फत बुझ्न थालेका छन्।

अर्थ मन्त्रालयमा पछिल्लो ६ घण्टाको अवधिमा मात्रै विभिन्न १० वटा संस्था तथा कम्पनीहरूबाट कुल २७ करोड ३३ लाख रुपैयाँ सहयोग रकम हस्तान्तरण भएको छ।

प्राप्त सहयोग रकममध्ये सबैभन्दा धेरै गोरखा ब्रुअरीले १० करोड रुपैयाँ कोषमा हस्तान्तरण गरेको छ। बैंक तथा वित्तीय संस्थाहरूबाट पनि ठूलो परिमाणमा सहयोग प्राप्त भएको छ।

जसअनुसार नेपाल बैंक लिमिटेडले ३ करोड १ लाख रुपैयाँ, कुमारी बैंक लिमिटेडले ३ करोड रुपैयाँ र राष्ट्रिय वाणिज्य बैंकले ३ करोड रुपैयाँ सहयोग गरेका छन्। त्यस्तै नेपाल इन्फ्रास्टक्चर बैंक (निफ्रा) ले २ करोड ५० लाख रुपैयाँ र एनआईसी एसिया बैंकले २ करोड २१ लाख रुपैयाँ अर्थ मन्त्रालय पुगेर हस्तान्तरण गरेका छन्।

यसैगरी, ससरस बेभरेज (रेडबुल) ले २ करोड रुपैयाँ, एनसेल एक्सियाटाले १ करोड रुपैयाँ, शिव शक्ति ग्रुपले ५१ लाख रुपैयाँ र रिलायन्स सुगर एन्ड केमिकल इन्डस्ट्रिजले १० लाख रुपैयाँ कोषका लागि प्रदान गरेका छन्।

प्राकृतिक विपत्तिबाट सिर्जित कठिन परिस्थितिमा निजी तथा सरकारी क्षेत्रका संस्थाहरूले सामाजिक उत्तरदायित्व वहन गर्दै प्रभावित नागरिकको पुनर्स्थापनाका लागि एकद्वार प्रणालीमार्फत सहयोग रकम हस्तान्तरण गर्ने क्रम जारी रहेको छ।