एनआईसी एशिया बैंकद्वारा बाढीपीडितका लागि २ करोड २१ लाख सहयोग
काठमाडौं। एनआईसी एशिया बैंक लिमिटेडले रसुवा जिल्लाको भोटेकोशी नदीमा आएको भीषण बाढीबाट प्रभावित नागरिकको उद्धार तथा राहतका लागि २ करोड २१ लाख रुपैयाँ सहयोग गरेको छ। बैंकले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत २ करोड रुपैयाँ तथा सञ्चालक र कर्मचारीबाट संकलित २१ लाख रुपैयाँ गरी कुल २ करोड २१ लाख रुपैयाँ प्रधानमन्त्री दैवी प्रकोप राहत उद्धार कोषमा प्रदान गरेको हो।
बैंकका अध्यक्ष अशोक कुमार अग्रवाल र प्रमुख कार्यकारी अधिकृत सुजित कुमार शाक्यले संयुक्त रूपमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई भदौ ११ गते उक्त रकम बराबरको चेक हस्तान्तरण गरेका हुन्।
भदौ १० गते बिहान भोटेकोशी नदीमा आएको आकस्मिक बाढीका कारण रसुवा, नुवाकोट र धादिङलगायतका क्षेत्रमा ठूलो मानवीय तथा भौतिक क्षति भएको बैंकले जनाएको छ। प्रभावित क्षेत्रमा राहत तथा उद्धार कार्यमा सहयोग पुर्याउने उद्देश्यले उक्त रकम उपलब्ध गराइएको बैंकको भनाइ छ।
बैंकले बाढीका कारण ज्यान गुमाएकाहरूप्रति श्रद्धाञ्जली व्यक्त गर्दै शोकसन्तप्त परिवारजनप्रति समवेदना प्रकट गरेको छ। साथै, सम्पर्कविहीन नागरिकको शीघ्र सकुशल उद्धार तथा घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ।
बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत तथा प्रमुख सूचना अधिकारी जयन्द्र बहादुर रावलका अनुसार उक्त सहयोग विपद्बाट प्रभावित क्षेत्रमा राहत तथा उद्धार कार्यमा उपयोग हुने अपेक्षासहित बैंकले सहयोग गरेको हो।














