चीनतर्फ तालबाट ग्ल्यासियर फुटेको हो, तत्काल ठूलो जोखिम छैन : प्रवक्ता पोखरेल
काठमाडौं । चीनको छोचेन खोला र पुरेपू त्साङ्पो नदीको संगम नजिक रहेको ठूलो तालमा ग्लेसियर फुटेको जानकारी प्राप्त भएको सरकारले जनाएको छ । तर, उक्त घटनाका कारण नेपालमा तत्काल ठूलो जोखिम नदेखिएको सरकारका प्रवक्ता एवं शिक्षामन्त्री सस्मित पोखरेलले बताएका छन् ।
शुक्रवार मन्त्रिपरिषद् बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै प्रवक्ता पोखरेलले चीन सरकारसँग परराष्ट्र मन्त्रालयमार्फत निरन्तर समन्वय भइरहेको जानकारी दिए। चिनियाँ पक्षबाट प्राप्त सूचनाअनुसार पनि अहिलेको अवस्थामा ठूलो जोखिम नरहेको उनले बताए ।
उनले सम्भावित जोखिमलाई ध्यानमा राख्दै सम्बन्धित क्षेत्रका नागरिकलाई सतर्क रहन आग्रह गरेका छन्। सरकारका प्रवक्ताका अनुसार उक्त घटना बाँध फुटेका कारण नभई ग्लेसियर फुट्दा विभिन्न स्थानमा पानी लेदोसहित बाहिरिएपछि भएको हो ।
उनले भने, “बाँध फुटेको अवस्था होइन । ग्लेसियर फुटेका कारण केही स्थानमा लेदोसहितको पानी ओभरफ्लो भएको हो ।”
तत्काल ठूलो जोखिमको अवस्था नदेखिए पनि सम्भावित परिस्थितिलाई ध्यानमा राख्दै सावधानी अपनाउन आवश्यक रहेको पोखरेलले बताए ।
















