१३ भदौ २०८३, शनिबार

भारतमा अहिलेसम्मकै ठूलो आईपीओ ल्याउँदै मुकेश अम्बानी, जियो प्लेटफर्म्सले पायो ३.८ अर्ब डलरको निष्कासन अनुमति



काठमाडाैं । भारतकाे धितोपत्र तथा विनिमय बोर्ड (सेबी) ले मुकेश अम्बानीको स्वामित्वमा रहेको जियो प्लेटफर्म्सलाई आईपीओ निष्काशनको अनुमति दिएकाे छ।

सेबीले जियो प्लेटफर्म्सको ३.८ अर्ब डलर (करिब ३६ अर्ब भारतीय रुपैयाँ) बराबरको  आईपीओ निष्काशनका लागि अनुमति दिएको हाे ।

यससँगै भारतको सबैभन्दा ठूलो वायरलेस अपरेटर तथा डिजिटल सेवाप्रदायक कम्पनीको रूपमा रहेको जियोको सेयर बजारमा सूचीकरण हुने बाटो खुलेको छ।

रिलायन्स इन्डस्ट्रिज लिमिटेडका अध्यक्ष मुकेश अम्बानीले कम्पनीको ४९ औं वार्षिक साधारणसभामा ‘जियो प्लेटफर्म्स लिमिटेड’ लाई प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) तर्फ अगाडि बढाइएको घोषणा गरेका थिए ।

कम्पनीले प्रतिकित्ता १० रुपैयाँ अंकित दरका २७ करोडसम्मका नयाँ साधारण सेयर जारी गरिनेछन्। बुक विल्डिङ प्रक्रियामार्फत मूल्य निर्धारण गरिने यस आईपीओले जियो प्लेटफर्म्सको कुल पुँजीको करिब २.९ प्रतिशत हिस्सा ओगट्नेछ भने यसलाई भारतको हालसम्मकै ठूलो सार्वजनिक निष्कासनमध्ये एक मानिएको छ।

यसअघि, जियो प्लेटफर्म्सले आईपीओबाट संकलन हुने रकम आफ्नो सहायक कम्पनी तथा भारतको ठूलो वायरलेस अपरेटर ‘रिलायन्स जियो इन्फोकॉम’ को ऋण चुक्ता गर्न प्रयोग गर्ने जनाएको थियो।

जियो प्लेटफर्म्समा अम्बानीको मुख्य कम्पनी रिलायन्स इन्डस्ट्रिजको ६६ प्रतिशतभन्दा बढी स्वामित्व रहेको छ भने गुगल इन्टरनेसनलको ७.७ प्रतिशत र मेटा प्लेटफर्म्सको करिब १० प्रतिशत हिस्सा रहेको छ।

यसका मुख्य अपरेटिङ व्यवसाय ‘रिलायन्स जियो इन्फोकॉम लिमिटेड’ का ५० करोडभन्दा बढी ग्राहक रहेका छन् र यसले भारतको करिब ६० प्रतिशत डेटा ट्राफिक धानेको छ।

अम्बानीले जियोलाई केवल एक टेलिकम क्यारियर मात्र नभई आर्टिफिसियल इन्टेलिजेन्स (एआई) र डिजिटल पूर्वाधारयुक्त फराकिलो कम्पनीको रूपमा प्रस्तुत गरेका छन्।

जियोले आफ्नो नेटवर्क र एपहरूमा छुट्टै एपमार्फत नभई प्रत्यक्ष रूपमा एआई फिचरहरू जोड्दैछ। यसअन्तर्गत प्रयोगकर्ताको अनुमतिमा कल सुन्ने, कुराकानी ट्रान्सक्राइब गर्ने, सारांश निकाल्ने र आगामी कामहरूको सूची बनाउने फोन-कल असिस्टेन्ट सेवा ल्याउने तयारी गरिएको छ।

यसका साथै उपभोक्ता, साना व्यवसाय, स्वास्थ्य, शिक्षा र कृषि क्षेत्रलाई लक्षित गर्दै विभिन्न एआई-सम्बद्ध सेवाहरू पनि घोषणा गरिएका छन्।

इरानमा भएको युद्धका कारण लगानीकर्ताको मनोबल कमजोर हुँदा भारतमा धेरै ठूला आईपीओहरू ढिलाइ हुन पुगेका थिए। तर, जियो प्लेटफर्म्स जस्ता ठूला आईपीओहरूको तयारीले भारतीय सेयर बजारमा लगानीकर्ताको आकर्षण पुनः बढ्ने अपेक्षा गरिएको छ।