रसुवा बाढी अपडेट: ६१६ जनाको मृत्यु पुष्टि, २३०० भन्दा बढीको उद्धार
काठमाडौँ । गत भदौ १० गते रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीका कारण प्रभावित क्षेत्रमा खोजी तथा उद्धार कार्य जारी रहँदा अहिलेसम्म ६१६ वटा शव फेला परेका छन्। प्रहरीले दिएको जानकारी अनुसार बाढीले बगाएर वा विभिन्न स्थानमा पारेको प्रभावका कारण ज्यान गुमाएकाहरूको शव फेला पर्ने क्रम जारी छ।
शनिबार बिहानसम्मको तथ्यांक अनुसार सबैभन्दा धेरै चितवनमा २३३ जनाको शव फेला परेको छ। यसैगरी नवलपरासी पूर्वमा १५८, गोरखामा ४८, धादिङमा ४५, नुवाकोटमा ४१, तनहुँमा ३१, नवलपरासी पश्चिममा ४७ र रसुवामा १३ जनाको शव भेटिएको छ। बाढीले नदी तटीय क्षेत्रमा ठूलो जनधनको क्षति पुर्याएको यस तथ्यांकले देखाएको छ।
विनाशकारी बाढीपछि बेपत्ता भएका तथा जोखिममा रहेकाहरूको खोजीका लागि सुरक्षाकर्मी परिचालन गरिएको छ। उद्धार टोलीले हालसम्म विभिन्न स्थानबाट २ हजार ३०१ जनालाई सकुशल उद्धार गर्न सफल भएको जनाएको छ।
सुरक्षा निकायबाट प्राप्त विवरण अनुसार नुवाकोट क्षेत्रबाट मात्रै १ हजार ६२२ जनाको उद्धार गरिएको छ। यस्तै, रसुवाबाट ६७६ र धादिङबाट ३ जनालाई सुरक्षित स्थानमा सारिएको छ। बाढीले तटीय बस्तीहरूमा ठूलो क्षति पुर्याएपछि विस्थापित भएका र जोखिममा रहेका नागरिकलाई राहत तथा पुनस्र्थापनाको काम पनि सँगै अघि बढाइएको छ।













