१३ भदौ २०८३, शनिबार

नबिल बैंक र चौधरी फाउन्डेसनद्वारा रसुवा बाढीपीडितका लागि १५ करोडको राहत तथा पुनर्स्थापना प्याकेज घोषणा



काठमाडौँ । विपद्ले तहसनहस बनाएको रसुवाका बाढी प्रभावित क्षेत्रमा राहत र पुनर्स्थापनाका लागि ठूलो सहयोगको घोषणा गरिएको छ। भदौ १० गते आएको विनाशकारी बाढीले पुर्याएको अपूरणीय क्षतिप्रति गहिरो समवेदना प्रकट गर्दै प्रभावित समुदायको जीवन सहज बनाउन करिब १५ करोड रुपैयाँको बृहत् राहत तथा पुनर्निर्माण कार्यक्रम अघि सारिएको हो।

आपत्कालीन उद्धारदेखि दीर्घकालीन पुनरुत्थानसम्मलाई समेट्ने गरी ल्याइएको यो बहुचरणीय योजनामार्फत पीडितहरूको पक्षमा बलियो ऐक्यबद्धता जनाइएको छ।

बाढी गएलगत्तै भदौ ११ गतेबाट नै प्रभावित क्षेत्रमा राहत सामग्री पुर्याउने काम सुरु भइसकेको छ। यस अभियानमा दुवै संस्थाका कर्मचारीहरू आफैँ मैदानमा खटिएका छन्। पहिलो चरणको यो कार्यक्रमअन्तर्गत प्रभावितहरूलाई खाद्य सामग्री, शुद्ध पिउने पानी, लत्ताकपडा, त्रिपाल र व्यक्तिगत सरसफाइका सामानहरू वितरण गरिएको छ।

स्थानीय प्रशासनसँगको समन्वयमा नुवाकोट र रसुवामा दुईवटा व्यवस्थित राहत शिविरहरू तयार पारिएका छन् जहाँ प्रभावितहरूका लागि दैनिक भोजनको प्रबन्ध गरिएको छ। बालबालिकाको सुरक्षा, स्वच्छ खानेपानी र सरसफाइमा विशेष ध्यान दिँदै रोगको संक्रमण हुन नदिन आवश्यक सावधानी अपनाइएको छ।

आपत्कालीन राहतसँगै स्वास्थ्य र बसोबासलाई पनि उत्तिकै प्राथमिकतामा राखिएको छ। धुलिखेल अस्पतालसँगको सहकार्यमा प्रभावित क्षेत्रमा विशेष स्वास्थ्य शिविर सञ्चालन गरेर प्राथमिक उपचार तथा सरुवा रोग रोकथामका प्रयासहरू भइरहेका छन्। भविष्यमा यस्ता विपद्बाट बच्नका लागि धुलिखेल अस्पतालसँगको साझेदारीमा एक संक्रमण नियन्त्रण केन्द्र स्थापना गर्ने योजनासमेत अघि बढाइएको छ।

बाढीले घर पूर्ण रूपमा भत्काएका वा बस्नै नमिल्ने अवस्थामा पुगेका परिवारका लागि सरकारसँगको सहकार्यमा पाँच सयवटा अस्थायी आवास इकाइहरू निर्माण गरिने भएको छ। स्थायी घर नबनुञ्जेलसम्म पीडितहरूलाई सुरक्षित र सम्मानजनक रूपमा बस्ने व्यवस्था मिलाउन यो कदम चालिएको हो।

यस सम्पूर्ण अभियानलाई पारदर्शी र प्रभावकारी बनाउन सरकार, स्थानीय प्रशासन, सुरक्षा निकाय, स्वास्थ्यकर्मी र स्वयंसेवकहरूसँग नजिकैको समन्वयमा काम भइरहेको छ। संकटको यो घडीमा नेपाली जनताको साथमा उभिन पाउनु संस्थाको मुख्य दायित्व भएको चौधरी ग्रुपले बताएको छ।

राहत वितरण केवल केही दिनको औपचारिकतामा सीमित नभई उद्धार, अस्थायी बास, स्थायी पुनर्निर्माण र बलियो जनस्वास्थ्य संरचना तयार पार्ने लामो यात्राको सुत्रपात भएको प्रस्ट पारिएको छ। संकटको बेला सरकारले देखाएको तत्परता र सक्रियताप्रतिको कृतज्ञता प्रकट गर्दै अझ सुरक्षित र विपद्–प्रतिरोधी भविष्य निर्माण गर्ने दृढ संकल्प व्यक्त गरिएको छ।