१४ भदौ २०८३, आइतबार

बाढी प्रभावित क्षेत्र पुगेर अर्थमन्त्रीको ढाडस: ‘ढुक्क हुनुहोस्, स्रोतको अभाव हुन दिनेछैनौँ’



अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले बाढी प्रभावित नुवाकोट जिल्लाका विभिन्न क्षेत्रमा पुगेर स्थलगत अनुगमन र निरीक्षण गरेका छन्।

उहाँ शनिबार बिहानै नुवाकोटको सदरमुकाम विदुर आइपुगे। विदुरमा उनले नेपाली सेनाको नेतृत्वमा सञ्चालित ‘राहत तथा उद्धार कमाण्ड पोस्ट’ पुगेर उद्धार तथा राहत वितरणमा भइरहेका कामहरूबारे जानकारी लिए।

सो क्रममा उद्धार कार्यको नेतृत्व गरिरहेका नेपाली सेनाका उपरथी रञ्जित थापाले बाढीपीडितको उद्धार र राहतमा प्रभावकारी रूपमा काम भइरहेको जानकारी दिए। उनले हराइरहेका मानिसहरूको जीवितै उद्धारलाई पहिलो प्राथमिकतामा राखेर बुधबारदेखि नै काम भइरहेको र शनिबारसम्म आइपुग्दा विभिन्न जलविद्युत् परियोजनाको सुरुङमा फसेका मानिसहरूको उद्धारलाई उच्च प्राथमिकतामा राखिएको बताए।

उद्धारका साथसाथै विस्थापितलाई अस्थायी बसोबास, खाद्यान्न र अन्य प्रकारका राहत वितरणमा पनि केन्द्रबाट काम भइरहेको जानकारी उनले दिए। सोही क्रममा उनले बाढीग्रस्त क्षेत्रमा तत्काल ‘बेलिब्रिज’ आवश्यक रहेको औँल्याए।

अर्थमन्त्री डा. वाग्लेले उद्धार, उपचार र पुनर्स्थापनामा सरकारको तर्फबाट पूर्ण साथ र सहयोग रहने बताए। उनले कुनै पनि कुराको अभाव महसुस नगर्न र आवश्यक सहयोगका लागि निर्धक्क भएर समयमै जानकारी गराउन आग्रह गरे।

त्यसपछि अर्थमन्त्री वाग्लेले नेपाली सेनाको गौथली ब्यारेकमा रहेको हवाई उद्धार केन्द्र र राहत सामग्री सङ्कलन एवम् वितरण केन्द्रको निरीक्षण गरे।

यसलगत्तै उनले नेपाली सेनाको उद्धार केन्द्रमा आफन्तजन खोज्दै आएका पीडित परिवारलाई भेटेर उहाँहरूका समस्या सुने। नुवाकोट र रसुवाका विभिन्न जलविद्युत् आयोजनामा परिवारका सदस्य फसेको भन्दै उनीहरूले उद्धारका लागि अर्थमन्त्री वाग्लेको ध्यानाकर्षण गराए। अर्थमन्त्रीले नेपाली सेनाको ब्रिफिङलाई उद्धृत गर्दै सुरुङमा फसेका नागरिकको उद्धार उच्च प्राथमिकतामा रहेको र सुरक्षाकर्मीमाथि विश्वास राख्न परिवारजनलाई आग्रह गरे।

त्यसपश्चात् अर्थमन्त्री वाग्ले बाढीले ध्वस्त पारेको ढुङ्गे बजार पुगे। त्यहाँ भइरहेको उद्धार कार्यको अवलोकन गर्दै उनले पीडित परिवारसँग क्षतिको अवस्था र सरकारले गर्नुपर्ने कामबारे सुझाव लिए।

त्यसपछि उहाँ बाढीले क्षतिग्रस्त बनेको ऐतिहासिक देवीघाट बजार पुगे। बाढीले पुर्‍याएको क्षतिको अवलोकन गर्दै उनले पीडामा रहेका स्थानीयलाई भेटेर सरकार साथमा रहेको ढाडस दिए। हराएका आफन्तको खोजी, राहत, उपचार र पुनर्स्थापनामा सरकारले कुनै कसर बाँकी नराखेकको र आगामी दिनमा पनि नराख्ने प्रतिबद्धता उनले व्यक्त गरे।

त्यसपछि उनले गल्छी-रसुवागढी सडकखण्डअन्तर्गत देवीघाट र जिलिङ जोड्ने क्षतिग्रस्त पक्की पुल क्षेत्रको अवलोकन गरे। साथै, तल्लो पिपलटारमा रहेको आयुर्वेदिक केन्द्र र चन्द्रज्योति स्कुलमा सञ्चालित होल्डिङ सेन्टर पुगी देवीघाट बजारबाट उद्धार गरिएका स्थानीयलाई भेटेर उहाँहरूको समस्या सुने।

बाढीमा बग्दै गरेको अवस्थामा उद्धार गरिएका स्थानीयहरूसँग भेटघाट गरी उहाँहरूको स्वास्थ्य अवस्थाबारे पनि अर्थमन्त्रीले जानकारी लिए। उहाँहरूलाई शीघ्र स्वास्थ्य लाभको कामना गर्दै अर्थमन्त्री वाग्लेले सरकारले उचित पुनर्स्थापना गर्ने बताए। साथै, स्वास्थ्य उपचारमा खटिएको सशस्त्र प्रहरीको चिकित्सक टोलीलाई भेटेर उपलब्ध स्रोतसाधनबारे जानकारी लिए।

त्यसपछि अर्थमन्त्री डा. वाग्ले र सञ्चारमन्त्री डा. विक्रम तिमल्सिनाले नुवाकोटका जनप्रतिनिधि तथा राजनीतिक दलका नेतृत्वसँग विपद्पछिको उद्धार, राहत, उपचार र पुनर्स्थापनाको समन्वयका लागि छलफल गरे। जिल्ला समन्वय समितिको हलमा आयोजित उक्त छलफलमा उनले केन्द्र सरकारबाट कुनै पनि खाले स्रोतको अभाव हुन नदिने स्पष्ट पार्दै सबै जना एकजुट भएर विपद् प्रतिकार्यमा लाग्न आग्रह गरे। आर्थिक स्रोतको चिन्ता नगरी जनतालाई कुनै पनि कुराको अभाव नहुने गरी काम गर्न उनले निर्देशन दिए।

अन्तमा, उहाँ दिनभरको उद्धार, राहत र पुनर्स्थापना कार्यको अन्तिम सुरक्षा ब्रिफिङ लिन नेपाली सेनाको विदुर कमाण्ड सेन्टर पुगे। सो क्रममा गृहमन्त्री सुदन गुरुङ, सञ्चारमन्त्री विक्रम तिमल्सिना र नेपाली सेनाका उच्च अधिकारीहरूले विपद्पछिको अवस्थाबारे ब्रिफिङ गरेका थिए। ब्रिफिङअनुसार जलविद्युत् आयोजनाका सुरुङमा फसेकाहरूको उद्धारलाई उच्च प्राथमिकतामा राखिएको छ भने नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोलीले मृतकको शव सङ्कलन तथा राहत वितरण कार्यलाई तीव्रता दिएका छन्।