१४ भदौ २०८३, आइतबार

नेपाल टेलिकमद्वारा बाढी प्रभावित थप सात क्षेत्रमा मोबाइल सेवा सुचारु



काठमाडौँ। नेपाल टेलिकमले बाढी प्रभावित थप सात क्षेत्रमा सेवा शुरू गरेको छ। यससँगै प्रभावित १२० साइट मध्ये ९३ साइट सञ्चालनमा आएका छन्। नेपाल टेलिकमले रसुवाको त्रिशूली थ्री ए जलविद्युत आयोजनासँगै रहेको टावरमार्फत् सेवा पुन: सञ्चालन गरेको हो।

यसबाट उक्त जलविद्युत आयोजनाको सुरुङ मार्गमा भइरहेको उद्धार कार्यका लागि आवश्यक सञ्चार सम्पर्क सहज भएको छ । यसका लागि आवश्यक सामग्री सवारी साधनको प्रयोग गरी तथा भरियामार्फत ढुवानी गरिएको थियो ।

रसुवाकै उत्तरगया गाउँपालिकाको कालिकास्थानमा रहेको टावरमार्फत पनि सेवा सञ्चालन गरिएको छ। यसैगरी, नुवाकोट जिल्लाको तुप्चे र बुङताङ बीटीएस पनि शनिबारदेखि सञ्चालनमा आएका छन् । उक्त टावर सञ्चालनका लागि आवश्यक जेनेरेटर र इन्धन हेलिकप्टरमार्फत ढुवानी गरिएको थियो । यीबाहेक कटुन्जे, सामरी भञ्ज्याङ र बेतिनीका टावर समेत सञ्चालन भएका छन्।

यसैबीच, फिल्डमा खटिएका प्राविधिकको मनोबल उच्च राख्न तथा सेवा सुचारु कार्यलाई थप प्रभावकारी बनाउनका लागि कम्पनीका प्रबन्ध निर्देशक संगीता पहाडी (अर्याल) समेत नुवाकोट लगायतका प्रभावित क्षेत्र पुगेकी छन् । यसअघि उनले नेपाल टेलिकमको बबरमहलस्थित विपद् व्यवस्थापन कक्षको बैठकमा सहभागी भई सेवा सञ्चालन कार्यबारे विभिन्न जानकारी लिनुका साथै आवश्यक निर्देशन दिएकी थिइन् । 

यसै सन्दर्भमा प्रबन्ध निर्देशक पहाडीले अर्थमन्त्री र सूचना तथा सञ्चारमन्त्री एवम् नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष र सुरक्षा निकायका प्रतिनिधि लगायतको उपस्थितिमा नेपाल टेलिकमले गरिरहेको सेवा सुचारु कार्यको विवरण प्रस्तुत गरिन् ।

विपद्को यस अवस्थामा सम्बन्धित सबै सेवाग्राहीलाई आफन्तजनसँग सञ्चार सम्पर्क कायम गर्न सहयोग पुग्ने कम्पनीको विश्वास छ।