नाडा अटो शोकाे आज अन्तिम दिन, शनिबार मात्रै ३५ हजारले अवलोकन गरेकाे दाबी
काठमाडौं । काठमाडौंको भृकुटीमण्डपमा जारी ‘नाडा अटो शो २०२६’ आज समापन हुँदैछ । यही भदाै ९ देखि छ दिनका लागि सुरु भएको मेलाको आज अन्तिम दिन हाे ।
गत बुधबार भोटेकोशी क्षेत्रमा आएको बाढी तथा त्यसबाट उत्पन्न परिस्थितिका कारण अवलोकनकर्ताको चहलपहल केही प्रभावित बने पनि शुक्रबारदेखि बढेको उत्साह शनिबार उल्लेख्य रूपमा उकालो लागेको थियो।
आयोजक संस्था नाडा अटोमोबाइल एसोसिएसन अफ नेपालका अनुसार शनिबार सार्वजनिक बिदाका दिन मात्रै करिब ३५ हजारले अवलोकन गरेका छन्। यसअघि उद्घाटनको पहिलो दिन मंगलबार पनि करिब ३० हजारले अवलोकन गरेका थिए।
यस वर्षको अटो शोमा नयाँ मोडल र नयाँ ब्रान्डको प्रवेशले अवलोकनकर्ताको आकर्षण अत्यधिक बढाएको छ। शोमा करिब दुई दर्जन नयाँ मोडल सार्वजनिक हुनुका साथै आधा दर्जनभन्दा बढी नयाँ अटोमोबाइल ब्रान्डले नेपाली बजारमा आधिकारिक प्रवेश जनाएका छन्।
चारपांग्रे सवारीसाधनतर्फ विशेषगरी विद्युतीय सवारी (ईभी) मा क्रेज देखिएको छ। नामी भिगो, नामी बक्स, नयाँ नेक्सन, पन्च ईभी, बीवाईडी एटो २, जेको जेफाइभ, चेरी क्यू, एक्सियन, आर्कफक्स टी–वान, ओरा फाइभ, लीपमोटर बी०३ र प्रोटोन इमास फाइभलगायतका मोडलहरू अवलोकनकर्ताको केन्द्रबिन्दु बने। ईभीको दबदबाका बीच सुजुकी ब्रेजा, जिम्नी र अल न्यू हुन्डाई भेन्यूजस्ता पेट्रोल गाडीमा पनि ग्राहकको समान चासो देखिएको छ।
त्यस्तै, दुईपांग्रेतर्फ नेपालमै उत्पादित यात्री पी, यामाहा एक्सएसआर १५५, आर १५, फासिनो, अप्रिलिया एसआर १७६ र एक्सट्रीम २५० आरले युवा पुस्ताको ध्यान खिचेका छन्। हाइब्रिडतर्फ बीएआईसी बीजे३०ई, एमहिरो वान र बीवाईडी शार्कमा पनि अवलोकनकर्ताको बाक्लो उपस्थिति थियो।
अटो शोमा २३ वटा प्यासेन्जर कार, १७ वटा लाइट कमर्सियल भेहिकल र १३ वटा दुईपांग्रे ब्रान्डसहित कुल ५३ वटा सवारी ब्रान्ड सहभागी छन्। यसका साथै अटो पार्टपुर्जा, टायर, ब्याट्री, ल्युब्रिकेन्ट्स, एसेसरिज, बैंक तथा वित्तीय संस्था र बीमा कम्पनीका गरी २०० भन्दा बढी स्टलहरू रहेका छन्।
कम्पनीहरूले दिएका आकर्षक छुट, बुकिङ योजना तथा सहज वित्तीय सुविधाले ३० देखि ५० लाख रुपैयाँ मूल्य समूहका सवारीसाधन खरिद गर्ने ग्राहकलाई अझ आकर्षित गरेको छ।
अटोमोबाइल बजारमा देखिएको सुस्तताका बीच यसपटकको नाडा अटो शोमा देखिएको ऐतिहासिक जनसहभागिताले नेपाली बजारमा उपभोक्ताको रुचि अझै बलियो रहेको पुष्टि गरेको व्यवसायीहरूको निष्कर्ष छ। आज साँझ औपचारिक समापन हुनुअघि अवलोकन गर्न चाहनेहरूका लागि भृकुटीमण्डपमा आज अन्तिम मौका रहेको छ।













