नेपाल इलेक्ट्रिक, पावर, लाइट तथा कन्ज्युमर इलेक्ट्रोनिक्स अन्तर्राष्ट्रिय प्रदर्शनी हालका लागि स्थगित
काठमाडौं। मिडिया स्पेस सोलुसन्स प्रालि, एक्जिबिसन एण्ड ट्रेड सर्भिसेस इन्डिया प्रालि तथा फ्युचरेक्स ट्रेड फेयर एण्ड इभेन्ट् प्रालिको संयुक्त आयोजनामा भदौ १९ देखि २१ गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा आयोजना हुने तय भएको ’नेपाल इलेक्ट्रिक, पावर, लाइट तथा नेपाल कन्ज्युमर इलेक्ट्रोनिक्स एण्ड होम अप्लायन्सेस अन्तर्राष्ट्रिय प्रदर्शनी’ हालका लागि स्थगित गरिएको छ ।
कम्पनीले भनेको छ, ‘हाल नेपालमा आएको विनाशकारी बाढी पहिरोका कारण सिंगो देश अत्यन्तै कठिन र दुःखी परिस्थितिबाट गुजरिरहेको छ । प्राकृतिक विपत्तिले पुर्याएको ठूलो जनधनको क्षति र नागरिकहरूले भोग्नुपरेको अपार कष्टका बिच व्यापारिक प्रदर्शनी सञ्चालन गर्नु हाम्रा लागि मानवीय दृष्टिकोणले पनि उचित देखिएन । देश राष्ट्रिय शोक र पुनर्निर्माणको यस संवेदनशील घडीमा हुनुका साथै नेपाल सरकारद्वारा जारी सुरक्षा सचेतना तथा भारत र चीन सरकारले आफ्ना नागरिकहरूका लागि जारी गरेको ट्राभल एडभाइजरीलाई ध्यानमा राख्दै आयोजकले यो कठिन निर्णय लिएको हो । सहभागी, प्रदर्शक, र आगन्तुकहरूको सुरक्षा तथा यात्राको सहजता हाम्रो पहिलो प्राथमिकता भएकाले यो आयोजना हाललाई स्थगित गरिएको हो ।’
अवस्था सामान्य भई यातायात र पूर्वाधार सुचारु भएपछि प्रदर्शनीको नयाँ मिति सार्वजनिक गरिने आयोजकले जनाएको छ । आयोजकले प्राकृतिक विपत्तिको यस घडीमा पर्न गएको असुविधाप्रति क्षमा माग्दै सम्पूर्ण सहभागी तथा सरोकारवालाहरूको सद्भावका लागि आभार व्यक्त गरेको छ ।













