रसुवागढी नाका बन्द भएपछि मालवाहक कन्टेनर कोरलातर्फ लागे
काठमाडौँ। रसुवागढी–केरुङ नाका बाढीका कारण सञ्चालनमा आउन नसकेपछि चीनबाट नेपाल भित्रिने सामान ढुवानीका लागि मुस्ताङको कोरला नाका प्रयोग गर्ने क्रम बढेको छ। रसुवागढीमा क्षति पुगेपछि आयातकर्ताहरूले वैकल्पिक मार्गका रूपमा कोरला नाकालाई रोज्न थालेका हुन्।
कोरला हुँदै आवतजावत गर्ने मालवाहक कन्टेनरको संख्या पछिल्ला दिनमा उल्लेख्य रूपमा बढेको सशस्त्र प्रहरीले जनाएको छ। जोमसोमस्थित सशस्त्र प्रहरीको चेकपोस्टले आइतबार साँझ मात्रै ६६ वटा मालवाहक कन्टेनरको विवरण अभिलेख गरेको थियो।
रसुवागढी नाका पूर्ण रूपमा बन्द भएपछि चीनबाट नेपालतर्फ ल्याइने विभिन्न सामान कोरला हुँदै भित्र्याउने क्रम बढेको चेकपोस्टको भनाइ छ। कोरला नाकातर्फ सामान लिएर गइरहेका कन्टेनर चालक कुमार देवकोटाका अनुसार रसुवागढीबाट आउने मालवस्तु वैकल्पिक रूपमा कोरला हुँदै ल्याउन थालिएपछि चालकहरू पनि सोही मार्ग प्रयोग गर्न थालेका छन्।
सरकारले कोरला नाकालाई वैकल्पिक व्यापारिक नाकाका रूपमा अघि बढाएसँगै यसको व्यापारिक गतिविधि र राजस्व संकलनमा पनि वृद्धि भएको छ। आर्थिक वर्ष २०८२/८३ मा कोरला भन्सार कार्यालयले ६ अर्ब ९२ करोड रुपैयाँ राजस्व उठाएको थियो।
त्यस्तै, चालु आर्थिक वर्षको पहिलो महिना साउनमा मात्रै कोरला भन्सार कार्यालयले २९ करोड रुपैयाँ राजस्व संकलन गरेको जनाएको छ।
भन्सारमा आवश्यक जनशक्तिको अभाव
व्यापारिक गतिविधि बढ्दै गए पनि कोरला भन्सार कार्यालयमा आवश्यक जनशक्तिको भने अभाव देखिएको छ। मुस्ताङ भन्सार कार्यालयका प्रमुख विदुर चुडालका अनुसार कार्यालयमा १८ कर्मचारीको दरबन्दी भए पनि अहिले १२ जना मात्र कार्यरत छन्।
रसुवागढी नाका लामो समय बन्द रहेमा कोरला नाकामाथि थप व्यापारिक दबाब पर्ने अनुमान गरिएको छ। कन्टेनर तथा मालवस्तुको आवागमन बढ्दा सीमा व्यापार व्यवस्थापनसँगै भन्सार प्रशासन र राजस्व संकलनमा समेत यसको प्रत्यक्ष प्रभाव पर्न सक्ने देखिन्छ।










