अब नौबिसे–मलेखु सडक दसैँसम्म नचल्ने, कृष्णभीरमा त्रिशूलीको कटानका कारण वैकल्पिक रुटको खोजी
त्रिशूली नदीको कटान र कृष्णभीरको भीमकाय पहिरोका कारण नौबिसे–मलेखु सडकखण्ड पूर्ण रूपमा अवरुद्ध बनेको छ भने दसैँअगाडि यातायात सञ्चालनमा आउने सम्भावना लगभग समाप्त भएको छ।
काठमाडाैँ । संघीय राजधानी काठमाडौँलाई देशका अन्य भूभागसँग जोड्ने अत्यन्तै संवेदनशील र व्यस्त मानिने पृथ्वी राजमार्ग अन्तर्गत नौबिसे–मलेखु सडक खण्ड फेरि एकपटक ठप्प भएको छ। यस खण्डको कृष्णभीरमा गएको विशाल पहिरो र त्रिशूली नदीले सडकको ठुलै भाग बगाएपछि यातायातको आवतजावत पूर्ण रूपमा बन्द भएको हो।सडक डिभिजन कार्यालय र स्थानीय प्रशासनले दिएको जानकारी अनुसार नाम्सी खोलाको पुलदेखि नारायणगढतर्फको करिब एक किलोमिटर क्षेत्रमा नदीले सडकको फेद नै काटेको छ। २०५६ सालमा पनि पहिरोले ठूलो सास्ती दिएको यो क्षेत्रमा यसपटक नदीमा पानीको सतह उच्च भई बाढी आएपछि अवस्था थप जटिल बन्न पुगेको हाे।
सडक भासिएर र चर्किएर पूर्ण रूपमा अवरुद्ध भएपछि सडक विभागले स्थिति अध्ययनका लागि काठमाडौँबाट विशेष प्राविधिक तथा विज्ञ टोली घटनास्थलतर्फ पठाएको थियो। नौबिसे–मुग्लिन सडक आयोजनाको पश्चिम खण्डका रेजिडेन्ट इन्जिनियर प्रभुराज पाण्डेका अनुसार ६० मिटर अग्लो र करिब २० मिटर लामो सडक क्षेत्र पूर्ण रूपमा भासिएको छ।
सडकको कुनाबाटै चिरिएको र तलबाट नदीले पूरै कटान गरेका कारण तत्कालै गएर काम गर्न सकिने अवस्था छैन। यसअघि नै जोखिम न्यूनीकरणका लागि ‘भर्टिकल पाइलिङ’को काम सकिएर बर्खापछि ‘होरिजेन्टल एन्करिङ’ गर्ने तयारी गरिए पनि ती संरचनाहरू जोगाउन नपाउँदै बाढीले सबै भत्काइदिएको छ।
नागढुंगा–मुग्लिन सडक योजना (पश्चिम खण्ड) का सूचना अधिकारी सचेन्द्र मिश्रले नदीको सतहबाटै पहिरो गएका कारण यसको स्थायी मर्मत, विस्तृत डिजाइन र टेन्डर प्रक्रिया पूरा गर्न लामो समय लाग्ने स्पष्ट पारेका छन्। उनका अनुसार यो खण्डमा यातायात सुचारु हुन कम्तीमा पनि एक वर्ष लाग्न सक्ने देखिएको छ, जसले गर्दा यस वर्षको दसैँअगाडि नै गाडी गुडाउने सम्भावना पूर्ण रूपमा टरेको छ।
दैनिक १४ हजार हाराहारीमा सवारीसाधन आवतजावत गर्ने यो मुख्य राजमार्ग बन्द भएपछि यात्रुहरू बिचल्लीमा परेका छन्। यसैबीच, धादिङ र गोरखाका प्रमुख जिल्ला अधिकारी तथा सुरक्षा निकायका अधिकारीहरूले स्थलगत निरीक्षण गरी वैकल्पिक मार्गहरूको खोजी तीव्र बनाएका छन्।
पश्चिमबाट काठमाडौँतर्फ जाने सवारीसाधनका लागि गोरखा सदरमुकाम हुँदै बुंकोट, नाम्जुङ र बेनीघाट निस्कने रुटहरूलाई वैकल्पिक मार्गका रूपमा प्रयोग गर्न सकिने गरी प्राविधिक टोलीहरूले मूल्याङ्कन गरिरहेका छन्।










