शिवम् होल्डिङ्गसकाे साधारण सभाबाट १ करोड १६ लाख कित्ता आईपीओ ल्याउने प्रस्ताव पारित
काठमाडौँ । शिवम् सिमेन्ट लिमिटेडको सहायक कम्पनी शिवम् होल्डिङ्गस लिमिटेडको वार्षिक साधारण सभा सम्पन्न भएको छ।
भदौ १४ गते दिउँसो कम्पनीका अध्यक्ष शिवरतन शारडाको अध्यक्षतामा काठमाडौँमा सम्पन्न साधारण सभाले आव २०८२/०८३ को वार्षिक प्रगति प्रतिवेदनसहित सञ्चालक समितिले पेस गरेका सबै प्रस्तावहरू सर्वसम्मतिले पारित गरेको छ।
सभाले कम्पनीका हाल कायम सेयरधनीहरूका लागि रु. ११ करोड ६० लाख नगद लाभांश वितरण गर्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत गरेको छ। यसैगरी, आव २०८२/०८३ को वित्तीय विवरण पारित गर्दै आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि लेखापरीक्षक नियुक्ति गर्नेसम्बन्धी निर्णयसमेत साधारण सभाबाट पारित भएको छ।
साधारण सभाले आगामी ४ वर्षका लागि नयाँ सञ्चालक समितिको निर्वाचन तथा चयन गरेको छ। शिवरतन शारडाको अध्यक्षतामा गठित नयाँ सञ्चालक समितिमा सुशील गुप्ता र नन्दिनी मारु सञ्चालक सदस्य तथा चार्टर्ड एकाउन्टेन्ट प्रदीप राज उपाध्याय स्वतन्त्र सञ्चालकका रूपमा चयन हुनुभएको छ। सभाले कम्पनी सञ्चालनसम्बन्धी आवश्यक सम्पूर्ण अख्तियारी नयाँ सञ्चालक समितिलाई प्रदान गरेको छ।
कम्पनीले आफ्नो कुल जारी पुँजी रु. ५ अर्ब ८० करोडको २० प्रतिशतले हुन आउने १ कराेड १६ लाख कित्ता सेयर सर्वसाधारणमा सार्वजनिक निष्कासन गर्ने तयारी गरेको छ।
यसअघि नेपाल धितोपत्र बोर्डसमक्ष पेस गरिएको विवरणपत्रलाई परिमार्जन, संशोधन र अद्यावधिक गरी नयाँ कागजातहरू पेस गर्ने व्यवस्था मिलाउने निर्णय पनि साधारण सभाले सर्वसम्मतिले पारित गरेको कम्पनीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।










