८ मंसिर २०८३, मंगलबार

लिपिङ खोला जलविद्युत् आयोजना राष्ट्रिय प्रसारण लाइनमा जोडियो, आईपीओ निष्कासनको तयारी



काठमाडौं । हिम रिभर पावर लिमिटेडद्वारा प्रवर्द्धित १६.२६ मेगावाट क्षमताको लिपिङ खोला जलविद्युत् आयोजना राष्ट्रिय विद्युत् प्रसारण प्रणालीमा जोडिएको छ ।

सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका–२ मा निर्माण सम्पन्न भएको आयोजनाले २०८३ मंसिर ६ गतेदेखि विद्युत् उत्पादन गरी केन्द्रीय प्रसारण प्रणालीमा पठाउन थालेको हो ।

आईपीओ निष्कासनको तयारी

आयोजनाबाट विद्युत् उत्पादन सुरु भएसँगै कम्पनीले सर्वसाधारणका लागि प्राथमिक सेयर (आईपीओ) निष्कासन गर्ने प्रक्रिया पनि अघि बढाएको छ । आईपीओ निष्कासनका लागि नेपाल धितोपत्र बोर्डबाट अन्तिम स्वीकृति प्राप्त हुन बाँकी रहेको कम्पनीले जनाएको छ ।

कम्पनीले आयोजना प्रभावित स्थानीय बासिन्दा र सर्वसाधारणका लागि प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका २६ लाख ६० हजार कित्ता सेयर निष्कासन गर्ने तयारी गरेको छ । यसबाट कुल २६ करोड ६० लाख रुपैयाँ पुँजी संकलन हुनेछ । यो रकम कम्पनीको जारी पुँजीको २० प्रतिशत हो।

प्रस्तावित निष्कासनमध्ये १३ लाख ३० हजार कित्ता सेयर आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाका लागि छुट्याइएको छ । बाँकी १३ लाख ३० हजार कित्ता सेयर दोस्रो चरणमा सर्वसाधारणका लागि जारी गरिनेछ ।

आईपीओ निष्कासन तथा बिक्री व्यवस्थापनको जिम्मेवारी सिद्धार्थ क्यापिटल लिमिटेडले पाएको छ ।हिम रिभर पावर कम्पनी सन् २०१० मा निजी कम्पनीका रूपमा स्थापना भएको थियो । पछि सन् २०२२ मा पब्लिक लिमिटेड कम्पनीमा रूपान्तरण भएको कम्पनीले लिपिङ खोला जलविद्युत् आयोजना निर्माण गरी सञ्चालनमा ल्याएको हो ।

यसैबीच, आयोजनाबाट उत्पादित विद्युत् प्रसारणका लागि निर्माण गरिएको लाइन परीक्षण तथा चार्ज गर्ने क्रममा उच्च भोल्टेज प्रवाह हुने भएकाले कम्पनीले स्थानीय बासिन्दालाई सावधानी अपनाउन आग्रह गरेको छ।

कम्पनीका अनुसार भोटेकोशी गाउँपालिका–२ स्थित पावर हाउसको स्वीचयार्डदेखि वडा नं. ४ को सुनखानी सबस्टेसन हुँदै लामोसाँघुसम्मको प्रसारण लाइनमा विद्युत् प्रवाह गरी परीक्षण गरिनेछ ।यस क्रममा २०८३ मंसिर ६ देखि १० गतेसम्म प्रसारण लाइन आसपास गाईवस्तु तथा चौपाया चराउने, टावर तथा अन्य विद्युतीय संरचनामा चढ्ने, तार छुने वा नजिकै गएर जोखिमपूर्ण गतिविधि नगर्न कम्पनीले अनुरोध गरेको छ ।

प्रसारण लाइनमा उच्च भोल्टेज प्रवाह हुँदा मानवीय तथा पशुचौपायाको सुरक्षामा गम्भीर जोखिम उत्पन्न हुन सक्ने कम्पनीको भनाइ छ ।