भोटेकोशी बाढीका कारण १२ जलविद्युत आयोजनाहरुमा ठूलो क्षति, ८९४ जना सम्पर्कविहीन
काठमाडौँ । भोटेकोशी नदीमा आएको बाढीका कारण रसुवा र नुवाकोटमा रहेका जलविद्युत आयोजनाहरुमा ठूलो क्षति पुगेको छ। सञ्चालनमा रहेका ८ वटा र निर्माणाधीन ४ वटा गरी कुल १२ वटा जलविद्युत् आयोजनामा क्षति पुगेको हो।
स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) बाट प्राप्त विवरणअनुसार उक्त आयोजनाहरूको संयुक्त विद्युत उत्पादन क्षमता ६६९ मेगावाट रहेको छ।
बाढीका कारण क्षति पुगेका ११ आयोजनाबाट मात्रै ८ सय ९४ जना सम्पर्कविहीन भएका छन्। बाढीका कारण रसुवा र नुवाकोटका ६/६ वटा आयोजनामा क्षति पुगेको इप्पानले जनाएको हो। क्षतिग्रस्त आयोजनाहरुको पछिल्लो अपडेट यस्तो रहेको छ :
माथिल्लो त्रिशुली थ्री ए (६० मेगावाट)
माथिल्लो त्रिशुली थ्री ए जलविद्युत केन्द्रको सुरुङमा फसिरहेकाहरूको उद्दार सोमबार पनि जारी रह्यो । २४ घन्टा जारी राखिएको उद्दार कार्यमा केवल टनेल पोर्टल सफा गर्ने काम भएको नेपाल विद्युत प्राधिकरणले जनाएको छ।
सोमबार सुरुङमा क्राउन ब्लाष्ट गरी केवल टनेलमा पानी रहेको पाईएकोले वाटर पम्प सेट प्रयोग गरी डि-वाटरिङ गर्ने कार्य गरिएको छ। टनेलको मुखतर्फ रहेका ढुंगा माटोको थुप्रो हटाइ भित्र प्रवेश गर्ने सकिने मार्ग तयार गर्ने कार्य गरिएको छ । विज्ञ प्राविधिक टोलीले २४ घन्टा काम गरिरहेको भएपनि भित्र फसेकाहरूको उद्दारमा सफलता मिल्न सकेको छैन ।
नेपाल विद्युत प्राधिकरणका कामु कार्यकारी निर्देशक दीर्घायुकुमार श्रेष्ठका अनुसार त्रिशूली थ्री ए मा फसेकाहरूलाई बचाउन सकिने आशले काम गरिरहेको भएपनि सुरुङभित्र पानी भरिएकाले उद्दार कार्य थप चुनौतीपूर्ण बनेको छ।
रसुवागढी (१११ मेगावाट)
सोमबार नेपाली सेनाले नेतृत्व गरेको टोली रसुवागढी पुगेर विद्युतगृहको सुरुङभित्र प्रवेश गरी अवलोकन गरेको छ । रसुवागढी हाइड्रोपावर कम्पनीका अनुसार सुरुङभित्र खोजी गर्दा कोही फेला नपरेको भन्दै नेपाली सेनाको नेतृत्वमा खटिएको उद्दार टोली फर्किएको छ । सुरुङको अन्तिम भागमा मानिसहरू फसेको आशंका गरिएपछि सेनाको टोली इन्जिनियर र ड्रोन टोलीसहित खोजीमा पुगेको थियो ।
सुरुङको भित्री भागमा पुगेर ड्रोनमार्फत अवलोकन गर्दा कोही नभेटिएकाले खोजी कार्य सम्पन्न गरी नेपाली सेनाको टोली त्यहाँबाट रसुवाको धुन्चे फर्किएको भन्ने खबर छ । रसुवागढीबाट कम्पनीका ४९ जना कर्मचारी सहित ९३ जना हराइरहेका छन् ।
चिलिमे (२२ मेगावाट)
चिलिमे जलविद्युत केन्द्रमा आइतबार बाढीले प्रभावित भएको उद्दार कार्यलाई सोमबार पुनः सुरु गरिएको छ । दिनभर नेपाली सेना, पर्वतारोही, भारतीय प्राविधिक टोली, आयोजनाकै व्यक्ति सहित विद्युतगृहसम्म पुग्ने मार्ग खुलाउने कार्य गरिएको छ ।
२५० मिटर लामो सुरुङमा ९० मिटर भित्रसम्म पुगेपनि त्यो भन्दा भित्र पुग्न सकिएको छैन । चिलिमे जलविद्युत केन्द्रका कार्यकारी निर्देशक बाबुराजा महर्जनका अनुसार माग अनुसार उपकरणहरू लगेर विद्युतगृहको मार्ग खुलाउन दिनभर काम गरिएको छ ।
लाङटाङ खोला (२० मेगावाट)
निजी क्षेत्रको लाङटाङ खोला जलविद्युत आयोजनामा सोमबार नेपाली सेनाको नेतृत्वमा उद्दार टोली पुगेर निरीक्षण गरेको छ । नेपाली सेना, भारतीय सेना, प्राविधिक सहितको उद्दार टोली आयोजना स्थल पुगेको भएपनि सुरुङभित्र फसेकाहरूको उद्दार हुन सकेन । मंगलबार आफ्नोतर्फबाट पनि उद्दारको प्रक्रिया थालिने आयोजनाले जनाएको छ।
माथिल्लो त्रिशूली थ्री ‘बी’ (३७ मेगावाट)
माथिल्लो त्रिशूली थ्री ‘बी’ मा पनि आइतबारदेखि नै हराइरहेकोहरूको खोजी कार्य जारी राखिएको छ । आयोजनाका सबै संरचना बाढीमा बगेकाले पनि उद्दार कार्यमा सफलता मिल्न सकेको छैन ।
नेपाल विद्युत प्राधिकरणका कामु कार्यकारी निर्देशक दीर्घायुकुमार श्रेष्ठका अनुसार त्रिशूली थ्री बी सँगैको २२० केभी त्रिशूली थ्री बी हब सबस्टेसनमा पनि पूर्णरूपमा क्षति पुगेकाले त्यहाँबाट सम्पर्कबिहिन भएकाहरूको पनि खोजी कार्य भइरहेको छ।
माथिल्लो त्रिशूली-१ (२१६ मेगावाट)
माथिल्लो त्रिशूली–१ मा फसेकाहरूको सोमबार ३ जनाको मात्र उद्धार भएको छ भने हालसम्म उद्धार र सम्पर्क आएकाहरुको संख्या ८७३ छ । यसैगरी परामर्शदाता कम्पनी, ठेकेदार कम्पनीसहित आयोजनाका कर्मचारीहरु गरी ५७३ हराईरहेका छन् । यसमध्ये ३०० जना सुरुङ भित्र काम गर्नेहरु हराईरहेका छन् ।
उनीहरु सुरुङभित्र बसेर काम गरिरहेका थिए वा भित्र प्रवेश गर्न बाँकी थियो भन्ने ऐकिन छैन । सो दिन आयोजनामा करिब साढे १४०० सय जनाले काम गरिरहेको हुन सक्ने अनुमान गरिएको छ ।










