भोटेकोशी बाढीमा १ हजार ५६ जनाको शव भेटियाे, ४ हजारभन्दा बढीको खोजी हुँदै
काठमाडाैँ । रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीका कारण ज्यान गुमाउनेको संख्या १ हजार ५६ पुगेको छ। नेपाल प्रहरीले मंगलबार दिउँसो सार्वजनिक गरेको अद्यावधिक विवरणअनुसार बाढीप्रभावित विभिन्न जिल्ला र सीमापारसमेत गरी सो संख्यामा शव फेला परेका हुन्।
लगातारको खोजी तथा उद्धार कार्य जारी रहँदा बाढीले ठूलो जनधनको क्षति पुर्याएको स्पष्ट भएको छ।
प्रहरी प्रधान कार्यालयका अनुसार सबैभन्दा बढी चितवनमा ३२१ जनाको शव फेला परेको छ। यसैगरी नवलपरासी पूर्वमा २१६, नवलपरासी पश्चिममा १६५, नुवाकोटमा १५१, गोरखामा ६५, धादिङमा ५७, रसुवामा ३८ र तनहुँमा ३८ जनाको शव भेटिएको छ।
बाढीले बगाएर लैजाँदा भारतीय भूमिमा समेत ५ वटा शव फेला परेका छन्। हालसम्म फेला परेकामध्ये ९७२ वटा शवको लासजाँच मुचुल्का सम्पन्न भइसकेको छ भने ५८ वटा शव मात्रै आफन्तको जिम्मा लगाइएको छ।
शवको व्यवस्थापन र बेपत्ताको खोजी
घटनास्थलबाट संकलित शवहरूको पहिचान कठिन बन्दै गएपछि आवश्यक कानुनी प्रक्रिया र डीएनए नमुना संकलन गरी हालसम्म ६८४ वटा शव विधिवत् रूपमा व्यवस्थापन गरिएको छ। यसरी व्यवस्थापन गरिएकाहरूमा १२१ महिला, १९८ पुरुष र पहिचान नखुलेका ३६५ जना रहेका छन्।
पहिचान हुन बाँकी रहेका ८६९ वटा शवहरूको विस्तृत विवरण नेपाल प्रहरीको आधिकारिक वेबसाइटमा राखिएको छ ताकि आफन्तले खोजी गर्न सहज होस्।
बाढीले ठूलो संख्यामा मानिसलाई बेपत्ता बनाएको छ। नदी तथा प्रभावित क्षेत्रमा अझै पनि चार हजार ६ सय ६ जनाको खोजी तीव्र पारिएको प्रहरीले जनाएको छ। बाढीको जोखिमयुक्त क्षेत्रबाट हालसम्म चार हजार पाँच सय ३० जनालाई सकुशल उद्धार गर्न सफल भएको प्रहरीको भनाइ छ।
उद्धार, खोजी, राहत वितरण र शव व्यवस्थापन जस्ता संवेदनशील कार्यका लागि मात्रै सात हजार नौ सय १२ जना प्रहरी कर्मचारीलाई फिल्डमा खटाइएको छ।
विस्थापितको तथ्यांक र राहत प्रयास
आपत्कालीन अवस्थामा प्रभावित भएका हजारौं नागरिकलाई विभिन्न जिल्लामा निर्माण गरिएका होल्डिङ सेन्टरमा राखिएको छ। हाल नुवाकोट, धादिङ, रसुवा र काठमाडौंमा रहेका होल्डिङ सेन्टरहरूमा गरी कुल ३४५३ जना आश्रय लिइरहेका छन्। जसमध्ये सबैभन्दा धेरै नुवाकोटमा २४६६ जना बसिरहेका छन्।
प्रहरीले स्थानीय बासिन्दा र अन्य निकायसँगको समन्वयमा बाटोमा अवरुद्ध भएका सडकहरू खुलाउने कामलाई पनि एकसाथ अगाडि बढाइरहेको छ। जोखिममा रहेका घरपरिवारलाई सुरक्षित स्थानतर्फ सार्ने र बेपत्ताहरूको खोजीलाई प्राथमिकतामा राखेर सुरक्षाकर्मीहरू अझै पनि प्रभावित क्षेत्रमै डटिरहेका छन्।










