१७ भदौ २०८३, बुधबार

रसुवा बाढीको क्षतिपूर्ति अन्तर्राष्ट्रिय समुदायसँग माग्नुपर्ने सर्वदलीय बैठकको ठहर



काठमाडाैं । जलवायु परिवर्तनका कारण रसुवामा विनाशकारी बाढी आएकाले त्यसको क्षतिपूर्ति अन्तर्राष्ट्रिय समुदायसँग माग्नुपर्ने सर्वदलीय बैठकले निष्कर्ष निकालेको छ।

बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै राप्रपा संसदीय दलका नेता ज्ञानेन्द्र शाहीले कार्बन उत्सर्जन गर्ने अरू राष्ट्रका कारणले नेपालले यस्ताे विपत्ति भोगिरहेकाे र यसको क्षतिपूर्तिसहित अन्तर्राष्ट्रिय अदालतमा जानुपर्ने बताएका हुन्।

शाहीले नेपालले क्षतिपूर्तिको माग गर्दै संसदबाटै प्रस्ताव पारित गरेर अन्तर्राष्ट्रिय अदालत तथा संयुक्त राष्ट्रसंघसम्म हकदाबी गर्नुपर्ने बताए।

यस्तै बैठकमा सुरुङमा फसेकाहरूको उद्धारदेखि राहत वितरणको विषयमा छलफल भएको भन्दै उनले संकटको यस घडीमा विभाजित नभई उद्धार र राहतका लागि सरकारलाई सघाउनुपर्ने बताए ।