१७ भदौ २०८३, बुधबार

चिलिमे र त्रिशूलीका सुरुङभित्र सेनाको व्यापक खोज, एकै दिन ११८ जनाको जिवित उद्धार



रसुवा भोटेकोशी नदीको भीषण बाढीपछिको उद्धारमा जुटेको नेपाली सेनाले मंगलबार साँझसम्म एक विदेशीसहित ११८ जनाको जिवितै वा सुरक्षित उद्धार गरेको छ भने हाइड्रोपावरका सुरुङभित्र थपिएका जटिलता चिर्दै खोजतलास जारी राखेको छ।

काठमाडाैँ । रसुवा र नुवाकोट भएर बग्ने भोटेकोशी (त्रिशूली) नदीमा आएको भीषण बाढीपछि बेपत्ता तथा प्रभावितहरूको खोजी र उद्धार कार्य युद्धस्तरमा अघि बढाइएको छ। नेपाली सेनाले आज साँझ ५ बजेसम्म दिएको अद्यावधिक विवरण अनुसार बाढी प्रभावित क्षेत्रबाट एकै दिन १ जना विदेशी नागरिकसहित कुल ११८ जनाको सुरक्षित उद्धार गरिएको छ।

कठिन भूबनोट र प्रतिकुल मौसमका बावजुद सेनाले हवाई साधन र जमिनी टोली परिचालन गरी उद्धार कार्यलाई तीव्र बनाएको छ। बाढीले ठूलो धनजनको क्षति पुर्‍याएको यस क्षेत्रमा सुरक्षाकर्मीहरूको टोली नागरिकको जीवनरक्षाका लागि अहोरात्र खटिरहेको छ।

बाढीका कारण जलविद्युत आयोजनाका सुरुङहरूभित्र थुप्रिएको गेगर र माटो हटाएर मानिसहरूको खोजी गर्ने कार्य अत्यन्तै चुनौतीपूर्ण बनेको छ। चिलिमे हाइड्रोपावरको सुरुङमा विदेशी नागरिकसहितको संयुक्त खोज तथा उद्धार टोली करिब १५० मिटर भित्रसम्म पुग्दा सुरुङको भिरालो भाग पूर्ण रूपमा माटोले पुरिएको अवस्थामा फेला पारेको छ।

त्यस्तै, अपर त्रिशूली-१ को हाकू क्षेत्रमा पनि १६० मिटरभित्र पुग्दा सुरुङ टालिएको पाइएको छ। त्रिशूली-३ ‘ए’ आयोजनामा सुरुङको मुख फेला परे पनि तीनवटा एक्साभेटर प्रयोग गरी माटो पन्छाइएपछि टनेलको इनलेटमा पारिएको प्वालबाट अत्यधिक पानी आएका कारण भित्र छिर्न असम्भव देखिएको छ।

त्यसपछि सेनाले आउटलेटतर्फबाट पुनः प्वाल पारेर खोजी कार्यलाई निरन्तरता दिइरहेको छ। यता, त्रिशूली-३ ‘बी’ आयोजनाको कार्यालय र आवास क्षेत्र पहिचान गरी त्यहाँसम्म पुग्नका लागि बाटो निर्माणको काम भइरहेको छ।

बाढीले सडक सञ्जाल र पुलहरू बगाएपछि प्रभावित क्षेत्रका स्थानीय बासिन्दाहरूलाई आवतजावतमा ठूलो सास्ती भएको छ। यसैलाई मध्यनजर गर्दै त्रिशूली नदीका विभिन्न पाँच स्थानमा तुइन निर्माण गर्ने योजना अघि बढाइएको छ। जसअन्तर्गत नुवाकोटको विदुर नगरपालिका-९ इन्द्रायणीघाटमा करिब २५० मिटर लामो तुइन जडान गरिसकिएको छ।

यो तुइन सञ्चालनमा आएपछि बाढी प्रभावित इलाकाका मानिसहरूलाई बजार र अस्पतालसम्म आवतजावत गर्न ठूलो सहजता पुगेको छ। सेनाले आपतकालीन अवस्थामा राहत र उद्धारसँगै स्थानीयको दैनिक जीवन सहज बनाउन भौतिक पूर्वाधारका अस्थायी विकल्पहरू समेत तयार पार्दै गएको छ।

सेनाले हिजाेसम्म ३५९६ जनाकाे उद्धार गरेकाे बताएकाे थियाे । यी तथ्यांक जाेड्दा झण्डै ३७ सय जनाभन्दा बढीकाे उद्धार गर्न नेपाली सेना सफल भएकाे छ । उसले करीब ९ हजार जनाकाे फाैजलाइ उद्धारमा खटाएकाे र उनीहरू उत्तरी नाका नजिकैकाे टिमुरेदेखि दक्षिणकाे सीमाक्षेत्र नवलपरासीसम्म फैलिएर उद्धारकाे काममा खटीएकाे नेपाली सेनाले जनाएकाे छ ।