डेपुटी गभर्नर दीर्घबहादुर रावलको सम्पत्ति विवरण सार्वजनिक, कति छ रावलको सम्पत्ति ?
काठमाडौँ। नेपाल राष्ट्र बैंकका नवनियुक्त डेपुटी गभर्नर दीर्घबहादुर रावलले बुझाएको सम्पत्ति विवरण सार्वजनिक भएको छ। सरकारले भदौ ३ गते उनलाई राष्ट्र बैंकको कार्यकारी निर्देशक पदबाट डेपुटी गभर्नरमा नियुक्त गरेको हो।
सार्वजनिक विवरणमा रावल र उनका परिवारका सदस्यको नाममा रहेको घरजग्गा, बैंक खातामा रहेको रकम, सुनचाँदी, सेयर, सवारीसाधन तथा बीमासहित विभिन्न प्रकारका सम्पत्तिको विवरण समेटिएको छ।
विवरणअनुसार परिवारको ठूलो हिस्सा अचल सम्पत्ति पैतृक स्रोतबाट प्राप्त भएको हो। भक्तपुरमा रहेको घर भने बैंक कर्जा, स्वआर्जन र पुरानो घरजग्गा बिक्रीबाट प्राप्त रकम प्रयोग गरेर खरिद गरिएको उल्लेख छ।
भक्तपुरमा १ करोड ८० लाखको घर
रावलकी श्रीमतीको नाममा मध्यपुर थिमी नगरपालिका–२ स्थित दिव्यश्वरी प्लानिङमा १९१ वर्गमिटर क्षेत्रफलमा बनेको घर छ। विवरणअनुसार उक्त घर २०७७ फागुनमा १ करोड ८० लाख रुपैयाँमा खरिद गरिएको हो।
घर खरिद गर्दा बैंकबाट लिएको ऋणसँगै स्वआर्जन र यसअघि रहेको घरजग्गा बिक्रीबाट आएको रकम प्रयोग गरिएको रावलले उल्लेख गरेका छन्।
रावलकी आमाको नाममा कैलालीको टीकापुरमा १ कठ्ठा तथा अछामको बान्नीगढी जयगढमा १ रोपनी जग्गामा बनेका घर छन्। यी दुवैलाई पैतृक सम्पत्तिका रूपमा देखाइएको छ।
त्यसैगरी आमाको नाममा टीकापुरमा २ बिघा १ कठ्ठा र बान्नीगढी जयगढमा करिब ४५ रोपनी जग्गा रहेको छ। धनगढीमा परिवारका सदस्यहरूको नाममा ३३८.६३ वर्गमिटर क्षेत्रफलका दुई कित्ता जग्गा रहेको विवरणमा उल्लेख छ।
रावलको व्यक्तिगत नाममा कैलालीमा १ कठ्ठा जग्गा रहेको छ भने श्रीमतीको नाममा करिब ६ लाख रुपैयाँ लागतमा खरिद गरिएको जग्गा रहेको छ।
बैंक खातामा ११ लाखभन्दा बढी र १४ हजार अमेरिकी डलर
रावलका विभिन्न वाणिज्य बैंकका खातामा गरी ११ लाख ४९ हजार २१४ रुपैयाँ मौज्दात रहेको देखिन्छ। यसबाहेक उनका खातामा १४ हजार अमेरिकी डलर पनि रहेको छ।
उनका अनुसार नेपाली रुपैयाँ र अमेरिकी डलरको बचत पारिश्रमिक, वैदेशिक तालिम तथा भ्रमणबाट प्राप्त रकमबाट जम्मा भएको हो।
श्रीमतीको नाममा बैंक तथा वित्तीय संस्थामा ३ लाख ८४ हजार ९२७ रुपैयाँ रहेको छ। उक्त रकम घरभाडाबाट प्राप्त भएको विवरणमा उल्लेख गरिएको छ। रावलको साथमा ४० हजार रुपैयाँ नगद रहेको पनि सम्पत्ति विवरणमा जनाइएको छ।
२५ तोला सुन र २ किलो चाँदी
रावलको परिवारसँग २५ तोला सुन तथा २ किलो चाँदी रहेको छ। विवरणमा यीमध्ये केही सम्पत्ति पैतृक र केही स्वआर्जनबाट प्राप्त भएको उल्लेख गरिएको छ।
परिवारसँग करिब १ लाख रुपैयाँ मूल्य पर्ने हिराको औंठी पनि रहेको छ।
सेयर कति ?
रावलको व्यक्तिगत नाममा विभिन्न बैंक तथा वित्तीय संस्थाका ७७० कित्ता साधारण सेयर छन्।
श्रीमतीको नाममा भने बैंक तथा वित्तीय संस्थाका २७ हजार ५६७ कित्ता सेयर रहेको छ। त्यस्तै, बीमा कम्पनीका १३० कित्ता, जलविद्युत् कम्पनीका २ हजार ३७९ कित्ता र डिस्टिलरी कम्पनीका १ हजार कित्ता सेयर पनि रहेको विवरणमा उल्लेख छ।
रावलका छोराछोरीको नाममा समेत बैंक तथा वित्तीय संस्था र जलविद्युत् कम्पनीका साधारण सेयर रहेको जनाइएको छ।
सम्पत्ति विवरणमा रावलले नेपाल राष्ट्र बैंक कर्मचारी विनियमावलीअनुसार आफूले ५० लाख रुपैयाँसम्म कर्जा तथा सापटी सुविधा लिन सक्ने व्यवस्था रहेको समेत उल्लेख गरेका छन्। त्यसैगरी रावल तथा परिवारका सदस्यको नाममा एलआईसी नेपाल र राष्ट्रिय बीमा संस्थानमा बीमा रहेको छ। अवकाश कोषमा रहेको रकमसम्बन्धी विवरण पनि सम्पत्ति विवरणमा समेटिएको छ।
रावल परिवारको अचल सम्पत्तिमा पैतृक सम्पत्तिको हिस्सा उल्लेख्य देखिन्छ। पछिल्लो समयमा खरिद गरिएको भक्तपुरको घरका लागि भने बैंक ऋण, स्वआर्जन तथा पुरानो सम्पत्ति बिक्रीबाट प्राप्त रकम प्रयोग गरिएको स्रोत खुलाइएको छ।










