१८ भदौ २०८३, बिहिबार

भोटेकोशी बाढीका कारण २२ लाख टन गेग्रान थुप्रिएको यूएनडीपीको अनुमान



काठमाडौं । भोटेकोशी–त्रिशूली बाढीका कारण प्रभावित क्षेत्रमा करिब २२ लाख टन गेग्रान थुप्रिएको संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (यूएनडीपी) को प्रारम्भिक अध्ययनले देखाएको छ।

यूएनडीपीले सार्वजनिक गरेको प्रारम्भिक ‘र्‍यापिड एसेसमेन्ट एन्ड एनालाइसिस’ (र्‍यापिडा) प्रतिवेदनअनुसार २६ अगस्टमा हिमताल वा हिमक्षेत्रमा भएको भौगोलिक घटनाबाट उत्पन्न आकस्मिक बाढीले पानी, हिलो र ढुंगा बस्तीहरूमा पुर्‍याएको थियो। उक्त विपत्तिबाट नेपालमा १ हजारभन्दा बढी मानिसको मृत्यु भएको र ४ हजारभन्दा बढी बेपत्ता रहेको प्रतिवेदनमा उल्लेख छ।

हालसम्म १० हजार ४५१ जनाको उद्धार गरिएको जनाइएको छ। बाढीका कारण ११ वटा जलविद्युत् आयोजना र एउटा सौर्य ऊर्जा आयोजना गरी कुल ४३१.१ मेगावाट क्षमताका ऊर्जा आयोजना सञ्चालनबाट बाहिरिएका छन्।

निर्माणाधीन थप १५ वटा ऊर्जा परियोजना पनि प्रभावित भएका छन्। ती आयोजनाको कुल प्रस्तावित क्षमता ४७० मेगावाट रहेको यूएनडीपीले जनाएको छ।

८४ हजारभन्दा बढी मानिस प्रभावित

नेपालका लागि यूएनडीपीकी आवासीय प्रतिनिधि क्योको योकोसुकाेले त्रिशूली करिडोर आसपासका समुदायका लागि विपत्ति अत्यन्त विनाशकारी भएको बताएका छन्। उनका अनुसार धेरै परिवारले आफन्त, घर र जीविकोपार्जनका साधन गुमाएका छन् भने कतिपय समुदाय अत्यावश्यक सेवा तथा एकअर्कासँगको सम्पर्क पुनःस्थापित गर्न संघर्ष गरिरहेका छन्। तत्कालीन उद्धार तथा राहतसँगै प्रभावितमध्ये सबैभन्दा बढी क्षति बेहोरेका नागरिकलाई सुरक्षित र थप उत्थानशील ढंगले पुनःस्थापना गर्नुपर्नेमा उनले जोड दिए।

सरकारी तथ्याङ्क अनुसार ६ वटा जिल्लाका १७ वटा पालिकाका ८४,२७० भन्दा बढी मानिस विपद्‌बाट प्रत्यक्ष प्रभावित भएका छन्।  असारदेखि असोज (जुनदेखि सेप्टेम्बर) सम्म नेपालको मुख्य खेतीपातीको समय भएकाले बालीनाली, पशुचौपाया र कृषि योग्य जमिनमा पुगेको क्षतिले स्थानीयको खाद्यान्न सुरक्षा र आयआर्जनमा दीर्घकालीन असर पार्ने युएनडिपीको आकलन छ।

प्रभावित जनसंख्याको करिब तीन-चौथाई हिस्सा पहिले नै जीवनयापन, आधारभूत सेवा र जीवनस्तरका हिसाबले जोखिममा रहेका समुदायका रहेको युएनडिपीको अध्ययनले देखाएको छ।

नेपालका लागि युएनडिपीकी आवासीय प्रतिनिधि क्योको योकोसुकाले भनिन्, ‘त्रिशूली कोरिडोरका बस्तीहरूका लागि यो अत्यन्तै हृदयविदारक विपत्ति हो। परिवारहरूले आफ्ना प्रियजन, घर र जीविकोपार्जनका आधार गुमाएका छन्। तत्काल सहायता पुर्‍याउने काम जारी रहँदा, पुनःलाभ र पुनर्गठनका कार्यहरू सबैभन्दा बढी प्रभावित भएका मानिसहरूसम्म पुग्ने र उनीहरूलाई सुरक्षित तथा सुदृढ रूपमा पुनर्स्थापना गर्न मद्दत पुग्ने कुरा सुनिश्चित गर्नुपर्छ।’

कोपर्निकस इएमएस र सर्टिटका भू-उपग्रह तथ्याङ्कका आधारमा हालसम्म २,३५९ वटा भवनहरूमा क्षति पुगेको र त्यसबाट मात्रै ५ लाख ५६ हजार २ सय टन भवनजन्य फोहोर निस्किएको अनुमान गरिएको छ। क्षतिको विवरण थप आउने क्रमसँगै यो परिमाण अझै बढ्ने अनुमान छ।

उद्धार र पुनःस्थापनामा गेग्रान ठूलो चुनौती

यूएनडीपीले क्षति मूल्यांकन तथा अन्य उपलब्ध तथ्यांक र स्थानीय इन्जिनियरिङ अनुमानलाई समेटेर गेग्रानको मात्रा तथा फैलावटको पनि अध्ययन गरेको छ। प्रारम्भिक अध्ययनअनुसार २ हजार ३५९ भवनको क्षतिको भू–उपग्रह मूल्यांकन गर्दा मात्रै भवनजन्य गेग्रान करिब ५ लाख ५६ हजार २०० टन रहेको अनुमान गरिएको छ। थप क्षतिको विवरण प्राप्त हुँदै जाँदा यो मात्रा अझ बढ्न सक्ने यूएनडीपीले जनाएको छ।

गेग्रानमा भत्किएका भवनका संरचना, घरायसी सामान, वनस्पति, ढुंगा तथा नदीजन्य माटो–बालुवा लगायतका सामग्री समावेश छन्। बाढीबाट थुप्रिएको गेग्रान उद्धार तथा पुनःस्थापनाको प्रमुख चुनौती बनेको छ। भत्किएका भवन तथा हिलो–गेग्रानको थुप्रोमुनि मानिसहरू फसेको वा बेपत्ता रहेको हुन सक्ने भएकाले उद्धार कार्य जोखिमपूर्ण र कठिन बनेको यूएनडीपीले जनाएको छ।

बाढीले सडक, घर तथा सार्वजनिक संरचनामा ठूलो क्षति पुर्‍याउनुका साथै जलविद्युत् तथा अन्य ऊर्जा पूर्वाधारमा समेत क्षति पुर्‍याउँदा विद्युत् आपूर्ति प्रभावित भएको छ। यसले अत्यावश्यक सेवा पुनःस्थापना र प्रभावित समुदायको पुनर्निर्माण कार्यलाई थप चुनौतीपूर्ण बनाएको प्रतिवेदनमा उल्लेख छ।