१८ भदौ २०८३, बिहिबार

कृष्णभिरको पहिरो छलेर कसरी चलाउने राजमार्ग ?



काठमाडौँ । अन्तरराष्ट्रिय व्यापार र राष्ट्रिय यातायात प्रणालीको ‘जीवनरेखा’ को रुपमा रहेको पृथ्वी राजमार्ग पूर्ण रुपमा अबरुद्ध भएपछि अहिले संघीय राजधानी र बाँकी नेपालबीच सम्पर्क सूत्र नै टुटेजस्तो भएको छ । यस्तो खराब अवस्था आउनुमा धादिङको कृष्णभिरमा गएको पहिरो मुख्य कारण हो ।

त्रिशुली नदीमा गत साताको बुधबार आएको महाविनासकारी भेलबाढीले नदीको धार परिवर्तन गरेर राजमार्गतर्फ सेपिन आएपछि तारन्तार राजमार्ग मुनिको माटो कटान गरिरहेको छ । यसले गर्दा कयौँ स्थानमा सडक भासिने र पहिरो जाने अवस्था बनेको छ ।

तर कृष्णभिरमात्रै त्यस्तो पहिरो हो, जसले सडकको पुरै भागलाई त्रिशुली नदीमा झारिदिएको छ । अन्यत्र एकतर्फी मात्रै भए पनि सडक सञ्चालनमा रहेको अवस्थामा कृष्णभिरको यो पहिरोले उक्त राजमार्ग नै अवरुद्ध बन्न पुगेको छ ।

सरकारले यो राजमार्ग १५ दिनभित्र खुलाउने भनेको छ । २०५७ सालको बर्खामा पहिलो पल्ट ठूलो पहिरो गएको यो भिरमा ११ दिन बाटो अवरुद्ध भएको थियो । त्यसै आधारमा पनि सरकारले १५ दिनको समय मागेको हुनसक्छ । तर यो सडक १५ दिनमा कसरी खुल्छ भन्ने एकिन छैन । यसका लागि सबै पक्षहरुबीच छलफल गरेर निर्णय लिने भनिएको छ ।

यो सडक तत्काल खुलाउन र दीर्घकालिन समाधान गर्न विभिन्न पाटामा छलफल भइरहेका छन् । पहिरो काटेर सडक बनाउने एउटा विकल्पमा छलफल चलिरहेको छ । साथै यसका वैकल्पिक मार्गहरुको निर्माण र सञ्चालन गर्ने विषय पनि उठिरहेको छ ।

काठमाडौँ–तराई द्रुतमार्ग पनि बन्न नसकेको र अर्को ठूलो र भरपर्दो सडक सञ्चालनमै नरहेका कारण पृथ्वी राजमार्गको विकल्प नहुँदा यसलाई जसरी पनि सञ्चालन गर्नुपर्ने बाध्यतामा सरकार छ । यस्तो अवस्थामा कृष्णभिरको माथितिरबाट बाइपास सडक निकाल्ने विषयमा पनि छलफल भएको छ ।

अहिले नै भिरको दुईतिरबाट माथिसम्म सडकको ट्र्याक खोलिएको छ । ती दुईटा बाटोलाई जोड्न बीचमा अलिकतिमात्रै नयाँ सडक खन्नुपर्ने अवस्था छ । बरु बाइपास बनाउने हो भने त्यो पुरै भाग मर्मत र विस्तार गर्नुपर्ने हुन्छ । अहिलेकै अवस्थामा साना चारचक्के गाडी र मोटरसाइकलहरुमात्रै यो बाटोबाट चल्नसक्छन् ।

त्यसको अर्को विकल्प चाहीँ त्रिशूली नदी तारेर पारिबाट राजमार्ग सञ्चालन गर्ने हो । यसका लागि कृष्णभिरको दुईतिर त्रिशुलीमा पुल हालेर बाइपास बनाउन सकिने भौतिक पुर्वाधार मन्त्रालयका पूर्व सचिव समेत रहेका इञ्जिनियर तुलसी सिटौला बताउँछन् ।

‘अहिलेका लागि बेनिघाटमा एउटा पक्कि पुल बाढीबाट जोगिएको छ । एकतर्फका लागि त्यही पुललाई प्रयोग गर्न सकिन्छ’, उनले भने, अर्को तर्फ एउटा पुल बनाउन सकियो भने पारीपट्टीबाट राजमार्ग सञ्चालन गर्ने बाटो खुल्छ ।

उनका अनुसार गोरखा जिल्लाको घ्याल्चोक फेदीबाट ६–७ किलोमिटर सडक विस्तार गरेर यो राजमार्गलाई दिगो रुपमै कृष्णभिरको चपेटाबाट बाहिर निकाल्न सकिन्छ । तर यसो गर्न तत्काल सहज भने छैन । तत्कालै जोड्न मिल्ने बेलि ब्रिजहरु जम्मा ५० मिटरमात्र हुन्छन् । सिटौलाका अनुसार ६० मिटरभन्दा पनि बढी क्षेत्र भयो भने नदीमा पिलर उठाउनु पर्ने हुन्छ ।

तर त्रिशुलीको चौडाई १०० मिटर वा त्योभन्दा पनि बढी छ । यस्तो अवस्थामा बेलिब्रिज राख्न सजिलो नहुने उनी बताउँछन् । ‘यदी जोगिमारासम्म पुग्दा कहीँ कतै ५०–६० मिटरको चौडाई फेला पार्न सकियो भने एक महिनाभित्र बेलि ब्रिज राखेर सडक चलाउन सकिन्छ,’ सिटौलाले भने । उनका अनुसार पुलको फाउण्डेशन (जग) हाल्ने र पारिपट्टी सडक तयार पार्ने काम सँगसँगै गर्नुपर्ने हुन्छ ।

तत्कालका लागि कृष्णभिरभन्दा पूर्वमा एउटा पुल बनाउन सकिए नदी पारीबाट बाइपास गर्न सकिने संभावना

तर अहिले कृष्णभिरको एकातिर २१० मिटर र अर्कातिर २३० मिटरका झोलुङ्गे पुलहरु छन् । नजिकका स्थानाम नदी साँघुरिएको ठाउँमै पनि १४० मिटर हाराहारी चौडाई देखिन्छ । बेनीघाटको पुल ४ वटा स्पान र दुईथरी प्रविधिमा बनेको छ, जुन १५० मिटर लामो छ ।

यस अधारमा पनि अहिले नै बेलिब्रिज हालेर राजमार्ग खुलाउन सजिलो नहुने विज्ञहरुको भनाइ छ । तर हिउँद लागेपछि नदीको जलसतह घट्छ, त्यसपछि अर्को बर्खा नलागुन्जेलसम्म भने बेलिब्रिज राखेर चलाउन सकिने सिटौला बताउँछन् ।

उनले भने, ‘अहिले नै सम्भव नभए पनि हिउँदा बेलिब्रिज राखेर राजमार्ग चलाउन सकिन्छ । त्यही समयमा नयाँ पुल निर्माणका लागि काम पनि थलिसक्नुपर्छ ।’ यसो गर्दा पारीतिरबाट बाइपास सडक निकालेर राजमार्गलाई दिगो समाधान दिन सकिने उनको भनाइ छ ।

तर अहिले पहिरो गएको ठाउँमै पिलर वा पर्खाल उठाने कामले दिगो समाधान नदिने उनले बताए ।

कृष्णभिरकाे माथिबाट बाइपास गर्नसक्ने संभावना यस्ताे छः

त्रिशुलीकाे भीषण बाढीले ३१ वटा मोटरेबल पुल बगेको बताएको छ । त्यसमध्ये देविघाट, त्रिशुली बजार र बेत्रावतीमा ३ वटा बेलिब्रिज तुरुन्तै राख्ने गरी सडक विभागले काम अघि बढाइसकेको छ । थप २० स्थानमा बेलिब्रिज राख्ने गरी अध्ययन भइरहेको भनेर प्रधानमन्त्री बालेन्द्र शाहले बुधबार संसदलाई जानकारी गराएका छन् ।

यसबाहेक भेलबाडीका कारण ४८ वटा झोलुङ्गे पुल क्षतिग्रस्त भएको प्रधानमन्त्रीले बताएका छन् । तीमध्ये २० वटामात्रै मर्मतपछि सञ्चालनमा ल्याउन सकिने अवस्था रहेको उनले जानकारी दिए । बाँकी २८ पुल नयाँ बनाउनु पर्ने भएको छ ।

पूर्व सचिव सिटौलाले त्रिशुलीमा स्थायी प्रकृतिको पुल बनाएर राजमार्गलाई सधैँका लागि बाइपास गर्ने हो भने ‘सिंगल स्पान स्टील ट्रस’ डिजाइनका पुल बनाउन सकिने जानकारी दिए । सिटौलाकै डिजाइनमा यस्ता दुईटा पुल पहिले नै बनिसकेका छन्, जसको लम्बाई १२० मिटर छ ।

संखुवासभाको सभाखोलामा तुम्लिङटार तर्ने पुल यही प्रविधिमा बनेको सिटौला बताउँछन् । यो पुलका लागि फलाम लण्डनबाट मगाइएको थियो । त्यसैले यस्तो सिंगल स्पान अर्थात् खोलामा पिलर नराखी वारी र पारीमात्रै टेकाएर पुल बनाउने हो भने १२० मिटर लामो पुल बनाउने डिजाइन पहिले नै तयार रहेको उनले बताए ।

यस्तो पुलको लागत अलि बढी पर्ने भए पनि कंक्रिट पुल बनाउन २ वर्ष लाग्छ भने यो पुल एक वर्षमै तयार हुन्छ । त्यसैले चाँडो राजमार्ग सञ्चालन गर्न यो उत्तम विकल्प हुनसक्ने सिटौलाले बताए ।

पुलकाे याे डिजाइन पहिले नै रहेकाले तत्काल काम अघि बढाउन सकिने अवस्था