१८ भदौ २०८३, बिहिबार

बाढी पीडितका लागि दया फाउन्डेसनद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ करोड सहयोग



काठमाडौँ। बाढीबाट प्रभावित समुदायको उद्धार तथा राहत कार्यमा सहयोग पुर्‍याउने उद्देश्यले दया फाउन्डेसनले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ करोड रुपैयाँ सहयोग गरेको छ। बुधबार फाउन्डेसनका बोर्ड सदस्यहरूले उक्त सहयोग रकम अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई हस्तान्तरण गरेका हुन् ।

फाउन्डेसनले विपत्‌को कठिन घडीमा राहत तथा उद्धार प्रयासमा योगदान गर्ने अवसर पाएकोमा कृतज्ञता व्यक्त गर्नुका साथै प्रभावित समुदायको तत्कालीन आवश्यकता सम्बोधन गर्न नेपाल सरकारले गरेको शीघ्र पहल तथा प्रभावकारी स्रोत परिचालनको प्रशंसा गरेको छ । नेपाल तथा विश्वभरका व्यक्ति तथा संस्थाहरूबाट प्राप्त सहयोग, ऐक्यबद्धता र मानवीय संवेदनाप्रति पनि फाउन्डेसनले आभार व्यक्त गरेको छ।

फाउन्डेसनका अनुसार सहयोगको भावना दिवंगत संस्थापक तथा संरक्षक दयाराम भक्त माथेमाको मूल्य–मान्यता र जीवनदृष्टिबाट प्रेरित रहेको छ। माथेमा समुदायसँग बाँड्नु प्रत्येक संवेदनशील व्यक्तिको आधारभूत जिम्मेवारी तथा जीवनप्रतिको कृतज्ञताको अभिव्यक्ति हो भन्ने विश्वास राख्थे ।

बाढीबाट प्रभावित सम्पूर्ण व्यक्ति तथा परिवारप्रति फाउन्डेसनले हार्दिक सहानुभूति व्यक्त गर्दै प्रभावित समुदायको पीडा न्यूनीकरण तथा पुन:स्थापनाका लागि निरन्तर सहकार्य, ऐक्यबद्धता र मानवीय सहयोगको अपेक्षा गरेको जनाएको छ।