१८ भदौ २०८३, बिहिबार

बाढीले टावर र अप्टिकल फाइबर बगाएपछि एनसेललाई करोडौँको आर्थिक प्रहार



काठमाडौँ । गत भाद्र १० गते आएको विनाशकारी भोटेकोशी बाढीले रसुवाको टिमुरे क्षेत्रमा ठुलो तबाही मच्चाएको छ। प्राकृतिक प्रकोपका कारण त्यस क्षेत्रमा रहेको एक मोबाइल टावर पूर्ण रूपमा ध्वस्त भएको छ भने ६० किलोमिटरभन्दा बढी अप्टिकल फाइबर लाइनमा क्षति पुगेको छ। यसबाट सेवा प्रदायक कम्पनीलाई करिब ९ करोड रुपैयाँभन्दा बढीको आर्थिक नोक्सानी भएको प्रारम्भिक आकलन गरिएको छ।

भौतिक संरचनामा क्षति पुगेर सञ्चार सेवा अवरुद्ध बनेपछि प्रभावित बासिन्दाहरूलाई जोड्न कम्पनीले राहतका कार्यक्रम अघि बढाएको छ। रसुवा, नुवाकोट, धादिङ, गोरखा र चितवनका बाढी प्रभावित क्षेत्रका ग्राहकलाई लक्षित गरेर निःशुल्क भ्वाइस, डेटा र एसएमएस सेवा उपलब्ध गराइएको छ।

बाढी आउनुअघिको एक सातासम्म सक्रिय रहेका यस क्षेत्रका तीन लाखभन्दा बढी ग्राहकले यो सुविधा पाइरहेका छन्। सुरुमा तीन दिनका लागि हटाइएको शुल्कको मिति पछि थप सात दिनका लागि बढाइएको थियो। सोही कारण प्रभावितहरूले अहिलेसम्म करोडौँ मूल्य बराबरको निःशुल्क सेवा उपभोग गरिसकेका छन्।

बाढी र पहिरोले मुख्य फाइबर लिङ्कमा क्षति पुर्‍याउँदा नुवाकोट, रसुवा र धादिङका विभिन्न स्थानमा गरी २७ वटा टावर प्रभावित बनेका थिए। विपद्लगत्तै खटिएका प्राविधिक टोलीले २४ वटा टावरमा सेवा पुनः सुचारु गरिसकेका छन्। रसुवाको टिमुरेस्थित घट्टेखोलाको टावर पूर्ण रूपमा नष्ट भएको छ भने नुवाकोटको त्रिशूली, विदुर र रसुवाको तिरुका बाँकी टावरहरू सञ्चालनमा ल्याउन अहिले पनि प्राविधिकहरू फिल्डमै खटिएर काम गरिरहेका छन्।

संकटको यस घडीमा कोही पनि प्रियजनहरूसँगको सम्पर्कबाट वञ्चित नहोउन् भनेर कम्पनीले अर्को महत्त्वपूर्ण कदम पनि चालेको छ। ब्यालेन्स टपअप नभएका कारण वा अन्य कारणले एकतर्फी तथा दुवैतर्फबाट सेवा बन्द भएका २५ हजारभन्दा बढी ग्राहकका सिम कार्डहरू पुनः सक्रिय बनाइएको छ। यसले गर्दा आफन्तको खोजी र उद्धारको काममा लाग्न प्रभावितहरूलाई ठुलो राहत पुगेको छ।

सरकार तथा सम्बन्धित दूरसञ्चार नियमनकारी निकायसँगको सहकार्यमा यस क्षेत्रका मोबाइल प्रयोगकर्ताहरूलाई विभिन्न जनचेतनामूलक सन्देशहरू पनि पठाइने गरिएको छ। प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोग गर्न आग्रह गर्दै आधिकारिक खाता र लिङ्क मात्र प्रयोग गर्न सन्देशमार्फत सचेत गराइएको छ।

त्यस्तै, सामाजिक सञ्जालमा विपद्का हृदयविदारक दृश्य तथा फोटो र भिडियोहरू शेयर नगर्न र त्यस्ता सामग्री राखिएको भए तुरुन्त हटाउन पनि अनुरोध गरिएको छ।