मेरो माइक्रोफाइनान्सद्वारा दैवीप्रकोप उद्धार कोषमा १४ लाख ५५ हजार सहयोग
काठमाडौँ। बाढी पीडितका लागि मेरोमाइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले १४ लाख ५५ हजार रुपैँया आर्थिक सहयोग गरेको छ।
हालैको प्राकृतिक विपद्का कारण रसुवा, नुवाकोट, धादिङलगायतका जिल्लामा बाढी पहिरोबाट भएको मानवीय तथा भौतिक क्षतिप्रति मेरोमाइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले गहिरो दु:ख पनि व्यक्त गरेको छ।
संस्थाको केन्द्रीय कार्यालय बट्टार, नुवाकोटसहित ५ वटा शाखा कार्यालय समेत यस विपदबाट प्रत्यक्ष प्रभावित भएका छन्। यसै सन्दर्भमा विपद पीडितहरूको राहत, उद्धार र पुनर्स्थापनामा सहयोग पुर्याउन संस्था र कर्मचारीहरूको तर्फबाट दैवीप्रकोप उद्धार कोषमा १४ लाख ५५ हजार सहयोग प्रदान गर्ने निर्णय गरेको संस्थाले जनाएको छ।
संस्थाले विपदमा ज्यान गुमाउनेहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै घाइते तथा प्रभावितहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ। साथै उद्धार र राहत कार्यमा खटिएका नेपाल सरकार, सुरक्षा निकाय, स्वयंसेवक र सहयोगीहरूप्रति आभार व्यक्त गरेको छ।












