मोरङ उद्योग व्यापार संघको ६९औँ साधारण सभा सम्पन्न
काठमाडौँ। मोरङ उद्योग व्यापार संघले आफ्नो ६९औँ वार्षिक साधारण सभा भव्य एवं सफलतापूर्वक सम्पन्न गरेको छ । संघको ७५ वर्षको ऐतिहासिक यात्रा, औद्योगिक योगदान र व्यावसायिक स्वाभिमानलाई समेटेर तयार पारिएको विशेष स्मारिका पुस्तक ‘भिजन टु लिगेसी’ को समेत यसै अवसरमा उत्कृष्ट रुपमा अनावरण गरिएको छ ।
संघको ६९औँ वार्षिक साधारण सभाको सुखद अवसर पारी उक्त ऐतिहासिक स्मारिकाको अनावरण गरिएको हो । समारोहमा सभापति तथा संघका अध्यक्ष अनुपम राठी, प्रमुख अतिथि कोशी प्रदेश सरकारका मुख्यमन्त्री हिक्मतकुमार कार्की, विशिष्ट अतिथि नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष सुरकृष्ण वैद्य, संघका पूर्व अध्यक्षहरु तथा संघका निवर्तमान अध्यक्ष नवीन रिजालले संयुक्त रुपमा उक्त स्मारिकाको भव्य अनावरण गरेका थिए।
संघको ७५ वर्ष पूरा भएको गौरवपूर्ण क्षणबारे प्रकाश पार्दै अध्यक्ष राठीले व्यापार, विश्वास र रुपान्तरणका ७५ वर्षहरु समेटिएको जीवन्त दस्तावेजका रुपमा ‘भिजन टु लिगेसी’ स्मारिका प्रकाशन गर्न पाउनु संघको लागि ठूलो उपलब्धि रहेको बताए।
अध्यक्ष राठीद्वारा संयोजकद्वय अमित राठी र दिपेश सुवेदीको विशेष प्रशंसा
सभामा अध्यक्ष अनुपम राठीले संघको ७५ वर्षको उपलक्ष्यमा प्रकाशित सो ऐतिहासिक स्मारिकालाई भव्य, गरिमामय र सर्वोत्कृष्ट बनाउन स्मारिका प्रकाशनका संयोजक अमित राठी तथा सह–संयोजक दिपेश सुवेदीले पुर्याएको अतुलनीय योगदानको विशेष रुपमा चर्चा र उच्च प्रशंसा गरे ।
अध्यक्ष राठीले स्मारिका निर्माणको सुरुवाती चरणदेखि अन्तिम प्रकाशनसम्म संयोजक अमित राठी र सह–संयोजक दिपेश सुवेदीले देखाएको अहोरात्र परिश्रम, उच्च समर्पण र असीम लगनशीलताकै कारण सो स्मारिका पुस्तक एक ऐतिहासिक र जीवन्त दस्तावेजको रुपमा बाहिर आउन सफल भएको बताए।
उनीहरुले दिएको अमूल्य समय र अथक प्रयासको उच्च मूल्याङ्कन गर्दै अध्यक्ष राठीले संघको तर्फबाट संयोजकद्वय अमित राठी र दिपेश सुवेदीप्रति हार्दिक आभार तथा धन्यवाद व्यक्त गरेका थिए।
उद्योगी, व्यवसायी, उद्योग वाणिज्य क्षेत्रका नेतृत्वकर्ताहरु तथा विभिन्न क्षेत्रका विशिष्ट महानुभावहरुको बाक्लो उपस्थिति रहेको उक्त समारोहमा संघको ७५औँ स्मारिकाको भव्य अनावरणसँगै ६९औँ साधारण सभा भव्य रुपमा सम्पन्न भएको थियो ।












