१८ भदौ २०८३, बिहिबार

छिमेक लघुवित्तले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ४१ लाख ३९ हजार सहयोग



काठमाडौं । भोटेकोसी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा उद्धारका लागि छिमेक लघुवित्त वित्तीय संस्था लिमिटेडले ४१ लाख ३९ हजार ७५२ रुपैयाँ आर्थिक सहयोग गरेको छ।

संस्थाका अनुसार बाढीबाट रसुवा, नुवाकोट, धादिङ, चितवनलगायत जिल्लामा ठूलो जनधनको क्षति भएकोप्रति दुःख व्यक्त गर्दै सरकारको राहत तथा उद्धार अभियानमा सहयोग पुर्‍याउने उद्देश्यले उक्त रकम नेपाल सरकारको ‘प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष’ मा जम्मा गरिएको हो।

कुल सहयोग रकममध्ये संस्थाको तर्फबाट ३० लाख रुपैयाँ र कर्मचारीहरूबाट संकलित ११ लाख ३९ हजार ७५२ रुपैयाँ रहेको छ।

संस्थाले विपद्मा ज्यान गुमाउनेहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनप्रति समवेदना व्यक्त गरेको छ। साथै, घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै सम्पर्कविहीन तथा बेपत्ता व्यक्तिहरू सकुशल फेला पर्ने विश्वास व्यक्त गरेको छ।

छिमेक लघुवित्तले विपद्को यस कठिन परिस्थितिमा प्रभावित नागरिक, आफ्ना सदस्य, कर्मचारी तथा उनीहरूका परिवारको साथमा रहेको जनाएको छ। साथै, राहत तथा उद्धार कार्यमा एकअर्कालाई सहयोग र सहकार्य गर्न सबैमा आग्रह गरेको छ।