१८ भदौ २०८३, बिहिबार

ब्लू स्ट्रीक्स मोटरसाइकल ग्रुपद्वारा रसुवा–नुवाकोटका बाढीपीडितलाई राहत



काठमाडौं । रसुवा जिल्लामा गत भदौ १० गते आएको बाढीबाट प्रभावित परिवारका लागि ब्लू स्ट्रीक्स मोटरसाइकल ग्रुपले राहत सामग्री वितरण गरेको छ। समूहले आफ्ना सदस्यहरूबाट रकम संकलन गरी रसुवा र नुवाकोटका बाढीपीडितलाई आवश्यक खाद्यान्न तथा अन्य सामग्री उपलब्ध गराएको हो।

बाढीबाट प्रभावित परिवारलाई तत्काल राहत उपलब्ध गराउने उद्देश्यले समूहले आफ्ना सदस्यहरूबाट ९३ हजार रुपैयाँ संकलन गरेको थियो। संकलित रकमबाट चामल, दाल, मिनरल वाटर र स्यानिटरी प्याड लगायतका अत्यावश्यक सामग्री खरिद गरी राहत प्याकेज तयार गरिएको समूहले जनाएको छ।

भारी वर्षाका बीच राहत सामग्री तयार गरी मोटरसाइकल र एउटा सहयोगी गाडीमार्फत प्रभावित क्षेत्रमा पुर्‍याइएको थियो। राहत सामग्री नुवाकोटको श्री सुन्दरी केउरिनी माध्यमिक विद्यालयमा स्थापना गरिएको अस्थायी होल्डिङ सेन्टरमा वितरण गरिएको थियो।

सो क्रममा ब्लू स्ट्रीक्सका सदस्यहरूले बाढीपीडित परिवारसँग प्रत्यक्ष भेट गरी राहत सामग्री हस्तान्तरण गरेका थिए। विशेषगरी ज्येष्ठ नागरिक तथा बालबालिकालाई आवश्यक सामग्री उपलब्ध गराइएको समूहले जनाएको छ।

सहयोग संकलन प्रक्रियामा पारदर्शिता कायम गर्न नगद तथा अनलाइनमार्फत प्राप्त सहयोगसहित दाताहरूको विवरणसमेत सार्वजनिक गरिएको थियो।

यस पहलप्रति प्रतिक्रिया दिँदै एमएडब्लु राइड्स प्रालिका कार्यकारी निर्देशक तथा प्रमुख कार्यकारी अधिकृत दीपक कुमार अग्रवालले ब्लू स्ट्रीक्सका सदस्यहरू राइडिङमा मात्र नभई सामाजिक कार्यमा पनि एकजुट हुँदै आएको बताए।

उनले भने, “हाम्रा राइडरहरू राइड मात्र सँगै गर्दैनन्, समाजलाई सहयोग पनि सँगसँगै मिलेर गर्छन्। नेपालभर भइरहेका हाम्रा सीएसआर गतिविधि होस् वा यस्ता कठिन परिस्थिति, हाम्रो मूल मन्त्र सधैं ‘राइड टू प्राइड’ रहँदै आएको छ। ब्लू स्ट्रीक्स आवश्यक परेको समयमा आम नागरिकको साथमा निरन्तर उभिइरहनेछ।”

बाढी प्रभावित क्षेत्रमा राहत, पुनःस्थापना तथा पुनर्निर्माणका काम जारी रहेका बेला ब्लू स्ट्रीक्सको उक्त पहलले समुदायस्तरबाट विपद्मा सहयोग जुटाउन सकिने उदाहरण प्रस्तुत गरेको छ।