त्रिशूली–३ ‘ए’ सुरुङबाट तीन जनाको जीवित उद्धार
काठमाडौँ। त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङभित्र फसेका तीन जनाको जीवित उद्धार गरिएको छ। पछिल्लो अपडेट अनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद तथा इन्जिनियर श्रीराम न्यौपानेले सामाजिक सञ्जालमार्फत तेस्रो व्यक्तिको समेत उद्धार भएको जानकारी दिएका हुन्।
यसअघि न्यौपानेले सुरुङबाट सञ्जय साह र कविर महर्जनलाई सकुशल बाहिर निकालिएको बताएका थिए। सुरुङभित्र अझै केही व्यक्ति रहेको सूचना प्राप्त भएपछि उद्धार टोलीले खोजी तथा उद्धारलाई निरन्तरता दिइरहेको छ।
उद्धार टोलीले बिहानै सुरुङभित्र रहेका व्यक्तिहरूसँग सम्पर्क स्थापित गर्न सफल भएको थियो। त्यसपछि उद्धार अभियानलाई थप तीव्र पारिएको बताइएको छ। सुरुङभित्र रहेका अन्य व्यक्तिहरूको अवस्था र उनीहरूको उद्धारबारे थप विवरण भने आउन बाँकी छ।












