२० भदौ २०८३, शनिबार

एकै साता ११ हजार बढीले घट्यो सुनको मूल्य, यस्तो छ साताभरिको उतारचढाव



काठमाडौं । नेपाली बजारमा पछिल्लो एक साताको अवधिमा सुनको मूल्यमा उल्लेख्य उतारचढाव देखिएको छ। साताको सुरुवातमा उच्च मूल्यमा रहेको सुन क्रमशः ओरालो लाग्दै भदौ १७ गते प्रतितोला ३ लाख रुपैयाँभन्दा तल झरेको थियो। तर, त्यसपछि लगातार दुई दिन मूल्य बढेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार भदौ १२ गते शुक्रबार प्रतितोला ३ लाख १८ हजार ५०० रुपैयाँमा कारोबार भएको सुन भदौ १९ गते शुक्रबारसम्म आइपुग्दा ३ लाख ७ हजार ४०० रुपैयाँमा झरेको छ। यस आधारमा एक सातामा सुनको मूल्य प्रतितोला ११ हजार १०० रुपैयाँले घटेको हो।

साताको पहिलो कारोबार दिनपछि सुनको मूल्यमा तीव्र गिरावट देखिएको थियो। भदौ १४ गते आइतबार प्रतितोला ९ हजार ५०० रुपैयाँ घटेपछि सुन ३ लाख ९ हजार रुपैयाँमा कारोबार भएको थियो।

त्यसको भोलिपल्ट अर्थात् भदौ १५ गते सोमबार पनि मूल्य घट्ने क्रम रोकिएन। उक्त दिन सुन प्रतितोला २ हजार ४०० रुपैयाँले सस्तिएर ३ लाख ६ हजार ६०० रुपैयाँमा झर्‍यो। भदौ १६ गते मंगलबार थप ५०० रुपैयाँ घटेपछि सुनको मूल्य ३ लाख ६ हजार १०० रुपैयाँ कायम भयो।

भदौ १७ गते बुधबार भने सुनको मूल्यमा साताकै सबैभन्दा ठूलो गिरावट आयो। उक्त दिन प्रतितोला ८ हजार ८०० रुपैयाँले घट्दा सुन २ लाख ९७ हजार ३०० रुपैयाँमा सीमित भयो। यससँगै सुनको मूल्य प्रतितोला ३ लाख रुपैयाँको मनोवैज्ञानिक सीमाभन्दा तल पुगेको थियो।

तर, त्यसपछि बजारको दिशा परिवर्तन भयो। भदौ १८ गते बिहीबार सुनको मूल्य एकैदिन प्रतितोला ७ हजार ६०० रुपैयाँले बढ्यो। मूल्य बढेसँगै सुन ३ लाख ४ हजार ९०० रुपैयाँमा पुगेको थियो।

साताको अन्तिम कारोबार दिन भदौ १९ गते शुक्रबार पनि सुनको मूल्यमा वृद्धि भएको छ। यस दिन प्रतितोला २ हजार ५०० रुपैयाँ बढेपछि सुन ३ लाख ७ हजार ४०० रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ।

यसरी साताको सुरुवातमा भदौ १२ गते कायम रहेको मूल्य र अन्तिम कारोबार दिन भदौ १९ गतेको मूल्य तुलना गर्दा सुन प्रतितोला ११ हजार १०० रुपैयाँले घटेको देखिन्छ। यद्यपि, साताको अन्तिम दुई कारोबार दिनमा भने सुनको मूल्य उकालो लागेको छ।

चाँदीको मूल्यमा पनि सोही अवधिमा उतारचढाव देखिएको छ। भदौ १२ गतेको तुलनामा भदौ १९ गतेसम्म आइपुग्दा चाँदी प्रतितोला २०० रुपैयाँले घटेको छ।