बाजुराको बडीमालिकामा पहिरो, यस्तो छ क्षतिको प्रारम्भिक विवरण
काठमाडौं । लगातारको वर्षापछि आएको पहिरोका कारण बाजुराको बडीमालिका नगरपालिकामा सात घर तथा गोठमा क्षति पुगेको छ।
जिल्ला प्रहरी कार्यालय बाजुराका अनुसार गएराति करिब ८ बजेदेखि निरन्तर पानी परेपछि बडीमालिका नगरपालिका–८ कोठ्यारामा पहिरो खसेको हो। पहिरोका कारण स्थानीय नरे रावलको घरमा क्षति पुगेको प्रहरीले जनाएको छ।
त्यस्तै, वडा नम्बर ९ का करे थापा र दिपक बिकको घरमा पनि पहिरोले क्षति पुर्याएको छ। सोही वडाका मोती ओखेडा, धनबहादुर बिक, जंग ओखेडा र तुले लुहारका गोठमा समेत पहिरो पसेर क्षति भएको प्रहरीले जानकारी दिएको छ।
पहिरोका कारण घर तथा गोठमा रहेका खाद्यान्न, कपडा र पशुचौपायामा समेत क्षति पुगेको प्रहरीको भनाइ छ। घटनापछि क्षतिको थप विवरण संकलन गर्ने काम भइरहेको जनाइएको छ।












