प्रकाेपपछि चाेरीकाे बिगिबगी, त्रिशुलीमा बाढीले पुरिएका घर जाेगाउनै मुस्किल
काठमाडाैँ । विध्वंशकारी भेलबाढीले तहसनहस बनाएका घरहरू अब चाेरकाे नयाँ लक्ष्य बन्न थालेका छन् । नुवाकाेटका त्रिशुली, ढुंगे, देवीघाट लगायत क्षेत्रमा यस्ता चाेरकाे विगबिगी देखिएकाे त्यहाँकाे स्थानीयले बताएका छन् ।
अहिले काठमाडाैँ उपत्यका, नुवाकाेट, धादिङ, रसुवा, सिन्धुपाल्चाेकल, काभ्रेदेखि मधेश र भारतदेखिका चाेरहरू बाढी प्रभावित क्षेत्रमा पुगेकाे एक स्थानीले बताए । “कतिपय मान्छे त भत्केकाे घर पनि रातभरि कुरेर बस्ने गरेका छन् । नत्र चाेरले ‘सफाइ’ गरिदिन्छ,” विदुरका एक जना स्थानीयले अर्थपथसँग भने, “सुरक्षा फाैजकाे ध्यान खाेज तथा उद्धारमा केन्द्रित भएका बेला डुबेका र भत्किएका सयाैँ घरबाट मूल्यवान् सामग्री चाेर्ने प्रवृत्ती बढ्न थालेकाे छ ।”
मानिसहरूले बाढीकाे समयमा ज्यान जाेगाए पनि घरबाट कुनै सामान निकाल्न सकेका थिएनन् । कतिपय महिलाले त लगाएकाे गरगहना समेत खाेलेर घरमा राखेर भागेकाे देवीघाट क्षेत्रका स्थानीयहरू चर्चा गरिरहेका थिए । बाढीले घर नै लैजाला भन्ने अनुमान भएन । बरू लगाएरै भाग्दा हराउने, चाेरी हुने जाेखिम भएकाे ठानेर महिलाहरूले स्वयंकाे वा नातेदार वा छिमेकीकाे घरमा समेत सुनका गरगहना राखेर भागेकाे उनीहरू बताउँछन् ।
तर ती सबै घरहरू अब भग्नावशेषमात्र बाँकी छन् । कुनै घर लेदाेले भरिएका भए पनि ‘ठाडै’ छन् त कयाैँ घरहरू या माटाेमुनी दबिएका छन्, या त गर्ल्याम-गुर्लुम्म ढलिसकेका छन् । यी क्षेत्रहरू बजार क्षेत्र भएका कारण मूल्यवान् सामग्रीहरू हरेक घरमा थिए । खासगरी धातुका सामानदेखि विक्रीयाेग्य वस्तुकाे खाेजि गरी चाेरीचकारी गर्ने समूहहरू ठूलाे संख्यामा सक्रीय रहेकाे जानकार बताउँछन् ।
विदुर नगरपालिका वडा नं. ५ का अध्यक्ष लिलानाथ न्याैपानेले पनि धेरै बाक्लाे स्थितिमा नभए पनि चाेरकाे समस्या देखिएकाे बताए । उनले प्रकाेपकाे अवस्थामा यस्ता अन्य खाले समस्याहरू पनि देखापर्नु स्वाभाविक भएकाे बताए । त्यसका लागि स्थानीय सरकारले नजिकका प्रहरी एकाइहरूसँग समन्वय गरी शान्ति सुरक्षा बर्करार राख्नमा काेसिस गरिरहेकाे उनले बताए ।
अहिले देवीघाट, बट्टार, विदुर, ढुंगे जस्ता क्षेत्रमा काठमाडाैँबाट सजिलै पुग्न सकिने भएकाले पनि त्यस्ता क्षेत्रमा चाेरकाे पहूँच बढी भएकाे स्थानीयकाे भनाइ छ । त्रिशूली नदी पारीकाे त्रिशूली बजारदेखि तुप्चेकाे साेले बजारसम्म भने धादिङबाट पुग्न सकिने बाटाे छ । धादिङकाे गल्छीबाट त्रिशूली नदीकाे किनारै किनार भएर त्रिशुली काेलाेनी पुग्न किन्छ । अर्काे बाटाे- धादिङ बेशीबाट मध्येपहाडी लाेकमार्गमा निस्किएर सामरी भञ्ज्याङहुँदै त्यहाँ पुग्ने बाटाे छ ।












