२१ भदौ २०८३, आइतबार

निगमले वैकल्पिक मार्गबाट ३ दिनमा भित्र्यायाे ८७ हजार ८७७ सिलिन्डर ग्यास, काठमाडौंमा भने अभाव कायमै



काठमाडौँ। नेपाल आयल निगमले वैकल्पिक मार्ग प्रयोग गरी ३ दिनमा ८७ हजार ८७७ सिलिन्डर खाना पकाउने (एलपी) ग्याँस काठमाडौँ ल्याएको छ।

पृथ्वीराजमार्गको कृष्णभिर खण्डमा पहिरो गई बाटो अवरुद्ध भएपछि काठमाडौँ, धादिङ र काभ्रेपलाञ्चोकका ग्याँस उद्योगहरू प्रभावित भएका छन् ।

उपत्यकामा ग्याँसको अभाव हुन नदिन निगमले तराईका विभिन्न जिल्लाका उद्योगहरूबाट रिफिल गरी ग्याँस भित्र्याइरहेकाे जनाएकाे छ।

भदौ १८ गते २४ हजार ४९४ सिलिन्डर, भदौ १९ गते ३४ हजार १३४ सिलिन्डर र भदौ २० गते २९ हजार २४९ सिलिन्डर गरी कुल ८७ हजार ८७७ सिलिन्डर ग्याँस काठमाडौँ ल्याएर वितरण भइरहेको निगमले जनाएकाे छ।

यसरी ग्याँस आपूर्ति गर्ने प्रमुख ब्रान्डहरूमा श्री ग्याँस, एभरेस्ट, साईबाबा, नेपाल ग्याँस, सूर्य, सागर, कावसन्स (श्रीमाया), एचपी, र एसटीसी लगायतका १६ भन्दा बढी उद्योगहरू रहेका छन्।

यद्पी अझै पनि काठमाडौँ उपत्यकामा खाना पकाउने (एलपी) ग्यासको हाहाकार मच्चिएको छ। नेपाल आयल निगमले तराईका जिल्लाहरूबाट भरिएका ग्यास सिलिन्डर काठमाडौँ ल्याएर वितरण तीव्र पारेको दाबी गरे पनि बजारमा उपभोक्ताले सहज रूपमा ग्यास पाउन सकेका छैनन्। ग्यास सिलिन्डर रित्तिएपछि आजकाल उपत्यकाका सर्वसाधारण ग्यास पाउन रातभरि र बिहानैदेखि डिपो तथा उद्योगका बिक्री केन्द्रहरूमा घन्टौँ लाइन बस्न बाध्य भएका छन्।

कृष्णभिर खण्डमा पहिरो गएर सडक भासिएपछि काठमाडौँ, धादिङ र काभ्रेपलाञ्चोकमा रहेका प्रमुख ग्यास बोटलिङ प्लान्टहरूमा एलपी ग्यासका बुलेटहरू भित्रिन पाएका छैनन्। जसका कारण काठमाडौँ उपत्यकामा दैनिक खपत हुने सामान्य मागको तुलनामा आपूर्ति निकै कमजोर बनेको छ।

काठमाडौँ उपत्यकामा सामान्य अवस्थामा दैनिक औसत ३५ हजारदेखि ४० हजार सिलिन्डर ग्यास खपत हुने गर्छ। तर, बाटो अवरुद्ध भएपछि आयल निगमले वैकल्पिक मार्ग प्रयोग गरी तराईका उद्योगहरूबाट औसतमा दैनिक करिब २९ हजार २९२ सिलिन्डर ग्यास मात्र उपत्यका भित्र्याउन सकिरहेको छ।