२१ भदौ २०८३, आइतबार

त्रिशूली बाढीले बगाएको फुर्केखोलामा ९४ मिटर लामो बेलिब्रिज राख्ने तयारी, कहिले हाेला तयार ?



धादिङको फुर्केखोलामा पिलरबिनाको ९४ मिटर लामो बेलिब्रिज जोड्न चीनसँग परामर्श, दुईदेखि तीन साताभित्र यातायात सुचारु गर्ने तयारी।

काठमाडाैँ । गत भदौ १० गते आएको विनाशकारी बाढीले त्रिशूली नदी किनारको पक्की पुल बगाएपछि अवरुद्ध बनेको धादिङको मुख्य आवागमन सहज बनाउन नयाँ पहल थालिएको छ। पृथ्वी राजमार्गलाइ धादिङ सदरमुकाम धादिङबेशीसँग जाेड्ने फुर्केखोलामा ९४ मिटर लामो बेलिब्रिज जडान गर्ने योजनाअन्तर्गत अहिले चिनियाँ विशेषज्ञहरूसँग परामर्शको काम तीव्र पारिएको छ।

यसअघि ११० मिटरकाे कंक्रिट पुलकाे संरचना बाढीले पूर्णरूपमा ध्वस्त पारेपछि वैकल्पिक विधिबाट याे बाटाे सञ्चालनमा ल्याउन प्राविधिक टोलीले कसरत गरिरहेको हो।

पृथ्वी राजमार्गको स्थलगत निरीक्षणका क्रममा सडक विभागका महानिर्देशक डा. विजय जैसीले फुर्केखोलामा बेलिब्रिज राख्ने विषयमा चिनियाँ विज्ञहरूसँग गम्भीर छलफल भइरहेको जानकारी दिएका छन्। उनका अनुसार नेपाल सरकारलाई चीन सरकारले १०० मिटर लामो बेलिब्रिज उपलब्ध गराएको छ।

सोही प्राप्त सामग्रीलाई प्रयोग गरी फुर्केखोलामा बीचमा कुनै पनि पिलर वा खम्बा नराखी ९४ मिटर लामो स्पानमा बेलिब्रिज जडान गर्ने योजना बनाइएको हाे। यस्तो प्रविधि अपनाउँदा भौगोलिक बनावटका कारण आउन सक्ने जोखिम कम हुनुका साथै निर्माण कार्य पनि छिटो सम्पन्न हुने विश्वास लिइएको छ।

महानिर्देशक जैसीले चिनियाँ विशेषज्ञहरूसँगको परामर्श सकारात्मक रूपमा अघि बढेको र सहमति जुट्नासाथ निर्माणले गति लिने बताएका छन्। चीनबाट ल्याइएको बेलिब्रिज फुर्केखोलामा सफलतापूर्वक जडान गर्न सकिएमा अबको दुईदेखि तीन साताभित्रै सो क्षेत्रमा पुनः यातायात सञ्चालनमा ल्याउन सकिने उनको भनाइ छ।

सडक विभागसँग यस्ता जटिल पुल निर्माणका लागि आवश्यक प्राविधिक दक्षता र जनशक्ति पर्याप्त रहेको पनि उनले स्पष्ट पारेका छन्। बाढीले क्षतिग्रस्त बनाएका अन्य संरचनालाई पनि यथाशक्य छिटो पुरानै अवस्थामा फर्काउन विभाग प्रतिबद्ध रहेको उनले बताए।

मुलुकभरका करिब १४ हजार किलोमिटर सडक सञ्जाललाई सुरक्षित र व्यवस्थित राख्न हाल ठूलो चुनौती रहेको महानिर्देशक जैसीले स्वीकार गरेका छन्। सिमित स्रोत र साधनका बाबजुद नागरिकको सहज आवागमनका लागि सडक विभागको टोली २४ घण्टिनै फिल्डमा खटिरहेको उनको भनाइ छ।

यसैबीच, राष्ट्रिय योजना आयोगका सदस्य तथा भौतिक पूर्वाधार मन्त्रालयका सचिवसहितको उच्चस्तरीय टोलीले पनि नारायणगढ–मुग्लिन सडक खण्डको कृष्णभिर क्षेत्रको वस्तुस्थिति बारे स्थलगत अवलोकन गरेको छ।

अवलोकनपछि सो टोलीले देखिएका समस्या तत्काल समाधान गर्न सम्बन्धित निकायलाई निर्देशन समेत दिएको छ। जवाफमा सडक विभागले विषम परिस्थितिमा धैर्य धारण गर्न आम नागरिकलाई आग्रह गर्दै सुरक्षित र अवरोधरहीन यातायात सञ्चालनका लागि कुनै पनि कसर बाँकी नराख्ने प्रतिबद्धता जनाएको छ।