२२ भदौ २०८३, सोमबार

अस्तित्वकाे संकटमा त्रिशुली-मैलुङ-स्याफ्रुबेशी सडक !



काठमाडाैँ । २०७२ असाेज २५ मा केपी शर्मा ओली पहिलाे पल्ट नेपालकाे प्रधानमन्त्री बने । त्यसकाे दुई महिना पनि नपुग्दै मंसिर १७ मा मन्त्रीपरिषदले निर्णय गर्‍यो- “गल्छी-त्रिशुली-मैलुङ-स्याफ्रुबेशी-रसुवागढी सडकलाई विशेष प्राथमिकता प्रदान गर्दै दुई देश (नेपाल र चीन) बीचकाे छाेटाे दुरीकाे व्यापारिक मार्गकाे रूपमा स्थापित गर्ने ।”

याे निर्णय त्यस्ताे बेला भएकाे थियाे, जति बेला भारतले नेपालमाथि “अघाेषित नाकाबन्दी” लगाएकाे थियाे । २०७२ काे असाेज ३ मा नयाँ संविधान जारी भएपछि त्यसकाे एक महिनाभित्र नयाँ संविधान अनुसार प्रधानमन्त्री नियुक्त गर्नुपर्ने हुन्थ्याे । त्यसैले ऐतिहासिक रूपमा संविधानसभाबाट नयाँ संविधान जारी गराउन सफल सरकारका प्रधानमन्त्री सुशिल काेइरालाले असाेज २३ मा राजिनामा दिए ।

लगत्तैकाे प्रधानमन्त्री निर्वाचनमा काेइराला पनि उमेदवार बनेका थिए । तर त्यसबेला भूराजनीतिक दवाबबाट नेपालमा कम्युनिष्ट एकताकाे जग हालिएकाे थियाे । भारतले संविधानका केही प्रावधानमा चिन्ता व्यक्त गर्दै मधेश केन्द्रित दलहरूकाे विराेधलाई कारण देखाएर नाकाबन्दी शुरू गरिसकेकाे थियाे । यही पृष्ठभूमिमा केपी शर्मा ओली देशकाे ३८ औँ प्रधानमन्त्री बने र उत्तरी नाकाहरू खाेल्ने आक्रामक कदमहरू चाल्न थाले ।

त्यस बेला धादिङकाे गल्छीबाट काेल्पुटार, रातमाटे, महादेवफाँट, देवीघाट, पिपलटार, गङ्गटे, बट्टार, विदुरहुँदै अहिले बाढीले डुबाएकाे ढुङ्गे बजारसम्म पक्की सडक बनिसकेकाे थियाे । याे बाटाे त्यसअघि नेपाली कांग्रेस नेतृत्वकाे सरकारले एसियाली विकास बैंकसँग ऋण लिएर स्तराेन्नती गरेकाे थियाे । ढुङ्गेदेखि बेत्रावतीसम्म पासाङ ल्हामु राजमार्गबाटै याे रूट अघि बढाइएकाे थियाे, जुन पिपलटारबाटै यसकाे हिस्सा थियाे ।

त्यसपछि भने रसुवाकाे खाल्टे, नयाँ पुलहुँदै नुवाकाेटकाे शान्तिबजार तरेर बाटाे उत्तर-पश्चिम लाग्थ्याे र मैलुङ्ग, स्याफ्रुबेशी, टिमुरेहुँदै रसुवागढीकाे नेपाल-तिब्बत (चीन) नाकासम्म पुग्थ्याे ।

याे सडक आर्थिक वर्ष २०७२/७३ मा शुरू भएर यसै साल अर्थात् २०८३/८४ मा सम्पन्न हुने पछिल्लाे संशाेधित लक्ष्य थियाे । गल्छीदेखि उत्तरी नाकासम्म ८२ किलाेमिटरकाे याे सडक कालाेपत्रेमा स्तराेन्नती गर्ने लक्ष्य राखिएकाे थियाे ।

सडक विभागकाे वार्षिक प्रगति प्रतिवेदन अनुसार गत असार मसान्तसम्म कुल ८२ किमिमध्ये ३८.८ किमी सडक कालाेपत्रे भइसकेकाे (नयाँ र पुरानाे गरी) थियाे । २४.५ किलाेमिटरमा निर्माणकाे काम चलिरहेकाे थियाे । बाँकी १९ किमि कालाेपत्रे गर्नका लागि ठेक्का लगाउनै बाँकी थियाे । त्यस्तै याे बाटाेमा पर्ने ३२ वटा पुलमध्ये २१ वटा पहिले नै बनिसकेका थिए । ३ वटा पुल निर्माणाधिन थिए भने ८ वटाकाे ठेक्का लगाउन बाँकी थियाे ।

यसरी समष्टिगत रूपमा करीब ६४ प्रतिशतकाे भाैतिक प्रगति भइसकेकाे विभागले उल्लेख गरेकाे छ । वित्तीय हिसाबा भने ६२.९३ प्रतिशत प्रगति भएकाे विभागकाे दस्तावेजमा देखिन्छ । यसका लागि विभागले गल्छी-त्रिशुली सडक स्तराेन्नतीदेखिकै पैसाकाे हिसाब राखेकाे छ । जसमा २०६५ सालदेखि बजेट विनियाेजन भएकाे र २०६७ सालदेखि खर्च हुन थालेकाे देखिन्छ ।

यसरी २०८२ असार मसान्तसम्ममा कुल ९ अर्ब ६८ कराेड रूपैयाँ खर्च भएकाे विभागकाे तथ्यांकमा देखिन्छ ।

स्राेतः सडक विभाग ।

याे सडककाे गङ्गटे र ढुङ्गेमा केही घर-टहरा हटाउन समस्या भइरहेकाेमा भर्खरैमात्र ती काम अघि बढेका थिए । बेत्रावतीमा पनि करीब ३०० मिटर सडकमा साइट क्लियरेन्स हुन सकेकाे थिएन । उता स्याफ्रुबेशी र टिमुरे बजारमा चाहीँ मुआब्जा निर्धारण नै हुन सकेकाे थिएन । स्याफ्रुबेशीदेखि रसुवागढीसम्मकाे १७ किलाेमिटर खण्ड चीन सरकारले नै स्तराेन्नती गरिदिने भनेकाे थियाे । तर साइट क्लियरेन्स नेपाल सरकारले नै गर्नुपर्ने हुन्छ ।

त्यसैले स्याफ्रुबेशीमा राेड अलाइनमेन्ट (रेखांकन) नै बदलेर डिजाइन परिवर्तन गरिएकाे थियाे भने टिमुरेमा पनि बिजुलीका पाेलहरू हटाउने प्रकृया अघि बढिसकेकाे थियाे ।

बाढीले सडक परियाेजनाकाे अस्तित्वमाथि नै प्रश्न ?

भदाै १० गतेको विनाशकारी रसुवा बाढीका कारण बिदुर-बेत्राबती १० किमि मध्ये ४.५ किमि सडक त्रिशुलीले पुरै कटान गरेको छ । स्थानीयले विवाद गरी पटक पटक काम रोकेपछि उक्त सडक पुनः निर्माण गरी सञ्चालन गर्न अत्यन्त चुनौतिपूर्ण रहेको विभागले बताएकाे छ ।

उसले सामाजिक सञ्जाल फेसबूकमा लेखेकाे छ- “हाल स्थानीय बिबाद हल गरी दुवै तर्फबाट (सडक निर्माण) कार्य भइरहेको छ । बेत्राबती पुग्न करिब ३०० मी अघि ट्रयाक निकाल्न सबैभन्दा चुनौतीपूर्ण देखिएकाले यसको सघन गृहकार्य भइरहेको छ ।”

साथै बेत्रबतीमा राखिने बेलीब्रिजको डिजाईन सम्पन भइ जग निर्माण कार्य शुरु भइसकेको पनि विभागले बताएकाे छ । तर बेत्रावतीभन्दा माथीकाे भागमा चाहीँ सडक कहीँ पनि बाँकी छैन । त्यस क्षेत्रका सबै पुलहरू पनि बाढीले बगाएकाे छ ।

यस्तै देवीघाटमा तादी नदीमा रहेकाे ट्रस पुल पनि त्रिशुलकाे बाढीले ढालिदिएकाे छ । देविघाट क्षेत्रमा सडक नै पुरिदिएकाे बाढीले काेल्पुटार पुल पनि क्षतिग्रस्त बनायाे । त्यतिमात्रै हाेइन, गल्छी- देबिघाट खण्डमा (करिब १८ किमी) मा करिब २.५ किमि सडकमा २ देखि ३ मिटर माथिसम्म लेदो र बालुवा थुपारिदियाे । देवीघाट पुल नजिकै पुरानाे पहिराेमा पनि त्रिशुलीले सडक कटान गरेकाे छ ।

भलै, गल्छिदेखि बेत्रावतीसम्मकाे सडक पुनः सुचारू गर्ने काेसिसहरू भइरहेका छन् । तर बेत्रावतीदेखि स्याफ्रुबेशी हुँदै रसुवागढी जाेड्ने बाटाे अहिले लगभग अस्तित्वबाटै हराएकाे छ । त्यसेले अब याे सिंगाे सडक परियाेजनाकाे अस्तित्व नै संकटमा पर्ने जाेखिम बढेकाे छ ।

भैँसेसम्म सडक सञ्चालन गर्ने तयारी

त्रिशुली बजारबाट बेत्रावती जाने बाटाेमा पर्ने भैँसेसम्म सडक सञ्चालन गर्न गल्छी-बेत्राबती-रसुवागढी सडक आयोजनाले काम गरिरहेको विभागले जनाएकाे छ । यसका लागि ढुंगेमा पुरिएकाे सडकबाट साँघुराे ट्रयाक खाेलेर बाटाे चलाइसकिएकाे छ । भैँसे क्षेत्रमा पनि बाढीले पुरेकाे सडकबाट लेदाे र बालुवा पञ्छाएर बाटाे लागू भइसकेकाे छ ।

भैँसेबाट बेत्रावती जाेड्ने सडकमा नयाँ ट्रयाक खाेल्ने प्रयार भइरहेकाे छ । भैँसेसम्म पुग्नका लागि गेर्खुटार उक्लिएर झर्ने बाटाे प्रयाेगमा ल्याइएकाे छ । त्यहाँ पनि पुरै सडक त्रिशुलीले बगाएपछि नयाँ ट्रयाक खाेल्ने काेसिस भइरहेकाे छ । देवीघाटमा सडक पुरेकाे पाँगाे पल्टाएर बाटाे चालु गरिएकाे छ ।

ठुलोखोला पुल पुरै भरिएकोले यो अझ चुनौतीपूर्ण भए पनि त्याे पुरूवा माटाे, कंक्रीट र लेदाे हटाइने काम भइरहेकाे छ । काेल्पुखाेलाकाे पुल मर्मत भएकाे छ । सबैभन्दा ठूलाे कुरा त, देवीघाट, त्रिशुली र बेत्रावतीमा पुल हाल्ने काेसिस अघि बढेकाे छ ।

तीन पुल प्राथमिकतामा

सरकारले छिट्टै नै बाढीले बगाएकामध्ये करीब २५ पुल पुनः निर्माण गर्ने याेजना बनाएकाे छ । त्यसमध्ये पहिले चरणमा ३ वटा पुल बनाउने भनेकाे छ । यसमा बेलि-ब्रिज राख्ने काेसिस भएकाे छ । त्यसमध्ये पनि पहिलाे चरणमा देवीघाटमा बगाएकाे तादी पुल पुनःस्थापना गर्ने काम अघि बढिसकेकाे छ ।

त्यहाँ नेपाली सेनाले नयाँ पुल हाल्दै छ, जुन एक-दुई दिनमै तयार हुने छ । देवीघाटमा ५५ मिटर लामाे ट्रस पुलकाे सुपरस्ट्रक्चर बाढीले बगाएपछि नयाँ पुल बनाउनु परेकाे हाे । सडक विभागले स्थलगत नाप तथा डिजाईन गर्दा सो स्थानमा सडक विभागमा उपलब्ध भएको बेलि ब्रिजको लम्बाई (५० मिटर) पर्याप्त नभएपछि विभागले तयार गरेको डिजाईन प्रयोग गरी नेपाली सेनासँग भएको एक्राे ब्रिज जडान गर्न थालेएकाे हाे ।

बेलिब्रिज सामान्यतया ५० मिटरसम्म हाल्न मिल्छ भने यसकाे भार वहन क्षमता केही कम हुन्छ । यसका प्रयाेग हुने फलामकाे गुणस्तर केही कम हुन्छ र डिजाइन पनि हल्का हुन्छ । यही बेलिब्रिजलाई सुधार गरेर ल्याइएकाे नयाँ मापदणडकाे पुलकाे नाम एक्राे ब्रिज हाे । याे पनि फलामकै पुल हाे, तर यसमा अलि बलियाे फलाम प्रयाेग हुन्छ र उन्नत डिजाइन पनि हुन्छ । त्यसैले याे पुलकाे भार बहन क्षमता पनि बढी हुन्छ ।

यही कारण बेलि ब्रिज सामान्यता अस्थायी प्रयाेगका लागि हालिन्छ भने एक्राे ब्रिज स्थायी प्रयाेगका लागि नै हालिन्छ । सेनासँग यस्ता ४ वटा पुलहरू थिए, जुन ७५ मिटर लामा छन् । यो पुल निर्माणकाे कार्य सम्पन्न भए पश्चात गल्छी-बिदुर खण्डकाे सडक संचालन गर्न सहयोग पुग्ने सडक विभागले बताएकाे छ।

यसपछि त्रिशुली र बेत्रावतीमा पनि बेलिब्रिज राख्ने तयारी अघि बढिसकेकाे छ । त्रिशुलीमा ढुङ्गेबाट त्रिशुली बजार तर्ने (जुन मध्येपहाडी लाेकमार्गकाे रूट पनि हाे) ठाउँमा पुरानाे र नयाँ दुबै पुल बगाएकाे छ ।

वि.सं. २०२० मा बनेको ८ मेट्रिक टन क्षमताको सिंगल लेनको पुरानो पुल जीर्ण भएका कारण दुर्घटनाको जोखिम बढेपछि पुरानो पुलको करिब १ सय ५० मिटर पूर्वमा नयाँ पुल निर्माण गरिएको थियाे । ६० मिटर लामो, ११ मिटर चौँडा डबल लेनको नयाँ कंक्रिट पुल ८ करोड रुपैयाँको लागतमा बनेको थियाे। याे पुलले त्रिशुली किनारकाे बजारलाई बाइपास गरेर त्रिशुली जलविद्युत् गृह नजिकैबाट जाने गरी बनाइएकाे थियाे ।

तर अहिले पुरानाे पुल भएकाे ठाउँमा नै बेलि ब्रिज राख्ने प्रकृया अघि बढाइ बाटाे सफा गर्ने काम लगभग सकिएकाे छ । उता बेत्रावतीमा राखिने बेलीब्रिजको डिजाईन सम्पन भइ जग निर्माण कार्य शुरु भइसकेको छ विभागले जनाएकाे छ ।

यसरी गल्छिदेखि बेत्रावतीसम्म सडक सञ्चालन गर्ने गरी काम अघि बढेकाे भए पनि त्याे बाटाे अब मैलुङहुँदै स्याफ्रुबेशी, टिमुरे र रसुवागढी फेरि कहिले पुग्छ भन्ने अन्याेल उत्पन्न भएकाे छ । सरकारी अधिकारीहरूका अनुसार रसुवाकाे माथिल्लाे भेगमा पुग्न अब फेरी पुरानै पासाङ ल्हामु राजमार्गमा निर्भर हुनुपर्ने हुनसक्छ, कयाैँ वर्षसम्म पनि ।