भोटेकोशी बाढीमा ज्यान गुमाएकाको सम्झनामा आज राष्ट्रिय शोक, आधा झण्डा झुकाइने
काठमाडौँ । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीमा परी ज्यान गुमाएकाहरूको स्मरणमा सरकारले आज राष्ट्रिय शोक मनाउँदैछ। राष्ट्रिय शोकका क्रममा नेपालका सरकारी कार्यालयसँगै विदेशमा रहेका नेपाली दूतावास तथा नियोगमा राष्ट्रिय झन्डा आधा झुकाइनेछ।
भदौ १८ गते सिंहदरबारमा बसेको मन्त्रिपरिषद्को बैठकले बाढीका कारण मृत्यु भएकाहरूको सम्मानमा आज राष्ट्रिय शोक मनाउने निर्णय गरेको थियो।
प्रहरी प्रधान कार्यालयका अनुसार आइतबार साँझसम्म बाढीमा परी मृत्यु भएका १ हजार ३ सय ४२ जनाको शव फेला परिसकेको छ। अझै ३ हजार ९ सय ९२ जना सम्पर्कविहीन अवस्थामा छन्।
फेला परेका शवमध्ये ५ सय ३० पुरुष र ३ सय २८ महिला रहेका छन्। थप ४ सय ९५ शवको भने अहिलेसम्म पहिचान खुल्न सकेको छैन।
प्रहरीका केन्द्रीय प्रवक्ता अविनारायण काफ्लेका अनुसार सम्पर्कविहीनमध्ये २ हजार ८ सय २७ जना पुरुष र ५ सय ६७ जना महिला नेपाली नागरिक छन्। त्यस्तै, २ सय ६७ पुरुष र २ सय ३९ महिला विदेशी नागरिक अझै सम्पर्कमा आएका छैनन्।
बाढी प्रभावित क्षेत्रमा सुरक्षा निकायले बेपत्ता व्यक्तिको खोजी तथा उद्धारसँगै शव व्यवस्थापनको कामलाई निरन्तर अघि बढाइरहेको छ। प्रहरीले हालसम्म फेला परेका शवमध्ये १ हजार ४४ वटा सुरक्षित रूपमा जमिनमा गाडेर व्यवस्थापन गरिएको जनाएको छ। अन्य शवको पहिचान र व्यवस्थापनको प्रक्रिया जारी छ।
बाढीपछि उद्धार गरिएका घाइतेको संख्या ९ हजार १ सय ५९ पुगेको छ। तीमध्ये ३ हजार १९० जनालाई सुरक्षित रूपमा होल्डिङ सेन्टरमा राखिएको प्रवक्ता काफ्लेले बताएका छन्।
बेपत्ता तथा मृतकको पहिचान सुनिश्चित गर्न प्रहरीले डीएनए परीक्षणलाई समेत प्राथमिकतामा राखेको छ। हालसम्म १ हजार १ सय ८१ मृतक र उनीहरूका १ हजार १ सय ९५ आफन्त गरी कुल २ हजार ३ सय ७६ जनाको डीएनए नमुना संकलन गरिएको छ।
खोजी तथा उद्धार, शव पहिचान र व्यवस्थापनका लागि नेपाल प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरी बललगायत सम्बन्धित सरकारी निकायका टोली प्रभावित क्षेत्रमा परिचालित छन् ।












