२२ भदौ २०८३, सोमबार

भोटेकोशी बाढीको मुद्दा लिएर संयुक्त राष्ट्रसंघको महासभामा जाने प्रधानमन्त्री शाहको तयारी



काठमाडौँ। प्रधानमन्त्री बालेन्द्र शाह ‘बालेन’ संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन आगामी असोज ६ गते अमेरिकाको न्यूयोर्क प्रस्थान गर्ने भएका छन्। प्रधानमन्त्रीको सचिवालयका अनुसार उनले असोज ८ गते महासभालाई सम्बोधन गर्ने कार्यक्रम तय भएको छ।

महासभाको सम्बोधनका क्रममा प्रधानमन्त्री शाहले नेपालमा पछिल्लो समय देखिएका जलवायुजन्य विपद्का घटनाबारे अन्तर्राष्ट्रिय समुदायको ध्यान खिच्ने तयारी गरेका छन्। विशेषगरी बाढी, पहिरोलगायत प्राकृतिक विपत्तिका कारण भएको मानवीय क्षति र भौतिक संरचनामा पुगेको असरबारे उनले जानकारी गराउने अपेक्षा गरिएको छ।

प्रधानमन्त्री शाह असोज ९ गते स्वदेश फर्किने कार्यक्रम रहेको बताइएको छ। उनी केही दिनका लागि नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै न्यूयोर्क जान लागेका हुन्।

यसअघि महासभामा नेपालको प्रतिनिधित्व परराष्ट्रमन्त्री शिशिर खनालको नेतृत्वमा गराउने सरकारको तयारी थियो। तर रसुवालगायत विभिन्न क्षेत्रमा ठूलो क्षति पुर्‍याउने गरी बाढीपहिरो आएपछि प्रधानमन्त्री आफैं महासभामा उपस्थित भएर नेपालको पछिल्लो अवस्थाबारे विश्व समुदायलाई जानकारी गराउनु उपयुक्त हुने विषयमा सरकारभित्र छलफल भएको थियो।

प्रधानमन्त्री शाहको नेतृत्वमा जाने टोलीमा सचिवालयका चार सदस्यसहित परराष्ट्रमन्त्री शिशिर खनाल, परराष्ट्रसचिव अमृतबहादुर राईलगायत सरकारी अधिकारी सहभागी हुने बताइएको छ।

महासभामा प्रधानमन्त्री शाहले हिमाली तथा जलवायु परिवर्तनको उच्च जोखिममा रहेका नेपालजस्ता देशले सामना गरिरहेका चुनौतीबारे धारणा राख्ने तयारी गरेका छन्। साथै, प्राकृतिक विपत्तिबाट भइरहेको क्षति कम गर्न तथा जलवायु परिवर्तनबाट सिर्जित जोखिम न्यूनीकरणका लागि अन्तर्राष्ट्रिय समुदायबाट थप सहयोग र सहकार्य आवश्यक रहेको विषयलाई पनि उनले प्राथमिकताका साथ उठाउने तयारी गरेका छन्।