पूँजीबजार सुधार्न अर्थमन्त्री वाग्लेको सक्रियता : कानुनी अवरोध हटाउने तयारी
काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नेपालको पूँजीबजारलाई थप बलियो, पारदर्शी र दीर्घकालीन लगानीका लागि आकर्षक बनाउन आवश्यक कानुनी तथा नीतिगत सुधारको प्रस्ताव तत्काल तयार गर्न सम्बन्धित निकायलाई निर्देशन दिएका छन्।
सोमबार अर्थ मन्त्रालयमा नेपाल राष्ट्र बैंक र नेपाल धितोपत्र बोर्डका उच्च अधिकारीहरूसँग भएको छलफलमा अर्थमन्त्री वाग्लेले पूँजीबजारको विकासमा अवरोध सिर्जना गरिरहेका विद्यमान कानुनी तथा नीतिगत व्यवस्थाको पुनरावलोकन गर्न निर्देशन दिएका हुन्।
उनले पूँजीबजारलाई केवल छोटो अवधिको उतारचढावसँग जोडेर हेर्नेभन्दा पनि मुलुकको आर्थिक विकासका लागि आवश्यक दीर्घकालीन पूँजी परिचालन गर्ने महत्वपूर्ण माध्यमका रूपमा स्थापित गर्नुपर्ने धारणा राखे।
यसका लागि अर्थ मन्त्रालय, नेपाल राष्ट्र बैंक र नेपाल धितोपत्र बोर्डबीच नीतिगत तथा नियामकीय तहमा निरन्तर समन्वय हुनुपर्नेमा उनले जोड दिएका छन्।
लगानीकर्ताको विश्वास बढाउने गरी सुधार आवश्यक
छलफलका क्रममा नेपालको पूँजीबजारलाई थप पारदर्शी, प्रतिस्पर्धी र लगानीकर्तामैत्री बनाउने विषयलाई प्राथमिकतामा राखिएको थियो।
विद्यमान कानुनमा आवश्यक संशोधन, नियामकीय प्रक्रियालाई सरल र प्रभावकारी बनाउने उपाय तथा सम्बन्धित संस्थाहरूको संरचनागत सुधारका सम्भावनाबारे बैठकमा छलफल भएको बताइएको छ।
अर्थमन्त्री वाग्लेले पूँजीबजारसँग प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा जोडिएका कानुन तथा नीतिमा देखिएका अस्पष्टता, असंगति र दोहोरोपन हटाउन ठोस सुझावसहितको प्रस्ताव ल्याउन सम्बन्धित अधिकारीलाई आग्रह गरेका छन्।
उनका अनुसार सुधारको मुख्य उद्देश्य लगानीकर्ताको विश्वास बढाउनु, बजारमा निष्पक्ष तथा स्वच्छ कारोबारको वातावरण बनाउनु र संस्थागत लगानी विस्तारका लागि अनुकूल आधार तयार गर्नु हुनुपर्नेछ।
नयाँ वित्तीय उपकरण र प्रविधिमा पनि जोड
पूँजीबजारलाई समयअनुकूल बनाउन नियामकीय क्षमता अभिवृद्धिसँगै नयाँ वित्तीय उपकरणको विकास र प्रयोगलाई पनि अघि बढाउनुपर्ने विषय छलफलमा उठेको थियो।
त्यसैगरी बजारको प्रविधिगत पूर्वाधार सुधार, संस्थागत सुशासन मजबुत बनाउने तथा लगानीकर्ताको हित र सुरक्षालाई प्रभावकारी बनाउने विषयमा पनि बैठकमा छलफल भएको थियो।
धितोपत्र बजारमा आउने नयाँ प्रविधि तथा वित्तीय उपकरणलाई व्यवस्थित ढंगले अघि बढाउन नियामक निकायको क्षमता र तयारी पनि सोहीअनुसार विस्तार गर्नुपर्ने आवश्यकता औंल्याइएको थियो।
मौद्रिक नीति र पूँजीबजारको तालमेल मिलाउन आग्रह
अर्थमन्त्री वाग्लेले पूँजीबजारको दीर्घकालीन विकासका लागि मौद्रिक नीति र धितोपत्र बजारसँग सम्बन्धित नीतिबीच उचित समन्वय हुनुपर्ने बताएका छन्। विशेषगरी बैंक तथा वित्तीय संस्थाबाट सेयर धितोका आधारमा प्रवाह हुने कर्जा, त्यससँग जोडिएको जोखिम र बजारको तरलतामा पर्ने प्रभावबारे नियामक निकायहरूबीच नियमित संवाद आवश्यक रहेको उनको भनाइ थियो।
बैंकिङ प्रणाली र पूँजीबजार एकअर्कासँग जोडिएका विषय भएकाले एउटा क्षेत्रमा लिइने नीतिगत निर्णयले अर्को क्षेत्रमा पार्न सक्ने प्रभावलाई समेत ध्यान दिनुपर्नेमा उनले जोड दिएका छन्। बैठकमा नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेल, नेपाल धितोपत्र बोर्डका अध्यक्ष डा. गोपाल भट्ट, राष्ट्र बैंकका डेपुटी गभर्नर किरण पण्डित तथा धितोपत्र बोर्डका उपकार्यकारी निर्देशक नारायण शर्मा पौडेल सहभागी थिए।
बैठकमा पूँजीबजारको वर्तमान अवस्था, नियामकीय चुनौती, कानुनी सुधार तथा बजारको दीर्घकालीन विकासका लागि आवश्यक कदमबारे छलफल गरिएको थियो। अर्थमन्त्रीले नेपाल राष्ट्र बैंक र धितोपत्र बोर्डका शीर्ष अधिकारीलाई एउटै छलफलमा राखेर पूँजीबजार सुधारका लागि आवश्यक कानुनी तथा नीतिगत उपाय पहिचान गर्न निर्देशन दिनुलाई सरकारले बजार सुधारलाई प्राथमिकता दिएको संकेतका रूपमा हेरिएको छ।
लामो समयदेखि नीतिगत स्थिरता, स्पष्ट नियमन, प्रभावकारी बजार संरचना र लगानीकर्तामैत्री वातावरणको अपेक्षा गरिरहेका लगानीकर्ताका लागि सरकारको पछिल्लो पहलले सकारात्मक सन्देश दिन सक्ने अपेक्षा गरिएको छ। पूँजीबजारमा दीर्घकालीन लगानीको वातावरण निर्माण गर्न सके यसले बचतलाई उत्पादनशील क्षेत्रमा परिचालन गर्नुका साथै निजी क्षेत्र तथा सरकारका लागि आवश्यक पूँजी जुटाउने महत्वपूर्ण माध्यमका रूपमा समेत भूमिका खेल्न सक्ने देखिन्छ।












