घाम पावरद्वारा नेपालको पहिलो सोल्युबल लिड-फ्लो ब्याट्री सार्वजनिक
काठमाडौं। घाम पावर नेपालले सेप्टेम्बर ४ मा विशेष प्रेस मिट आयोजना गर्दै नेपालमा पहिलोपटक सोल्युबल लिड-फ्लो ब्याट्री (एसएलएफबी) सार्वजनिक गर्यो, जुन नेपालकै लागि विकास र प्रदर्शन हुँदै गरेको एक उदीयमान ऊर्जा भण्डारण प्रविधि हो। युनिभर्सिटी अफ साउथह्याम्प्टनका प्रोफेसर रिचर्ड विल्सले प्रत्यक्ष प्रदर्शनमार्फत पत्रकार तथा ऊर्जा क्षेत्रका प्रतिनिधिहरूलाई ब्याट्री कसरी काम गर्छ र यसलाई कसरी निर्माण गरिन्छ भन्ने जानकारी दिए।
एसएलएफबीको मूल आधार सरल छ: प्रयोग भइसकेका ब्याट्रीबाट पुनःप्राप्त लिडलाई विद्युत् भण्डारणको मुख्य सामग्रीका रूपमा प्रयोग गरी नयाँ जीवन दिने, जसले सौर्य र जलविद्युत्बाट उत्पादित ऊर्जा भण्डारण गर्ने विकल्पको रुपमा काम गर्छ। नेपालको नवीकरणीय ऊर्जा क्षमता बढ्दै जाँदा भरपर्दो भण्डारणको आवश्यकता पनि बढ्दै गएको छ र एसएलएफबीले नवीकरणीय ऊर्जा एकीकरण तथा लामो अवधिको स्थिर
ऊर्जा भण्डारणमा यो खाडल पुर्ने अपेक्षा गरिएको छ।
प्रदर्शनका क्रममा प्रोफेसर विल्सले ब्याट्री कसरी चार्ज र डिस्चार्ज हुन्छ, अर्थात् इलेक्ट्रोडमा लिड कसरी जम्मा हुन्छ र पुनः हट्छ भन्ने विषयमा प्रत्यक्ष रूपमा स्पष्ट पारे र फ्लो ब्याट्री प्रविधि ध्यानपूर्वक हेर्ने र अनुसन्धानकर्तासँग प्रत्यक्ष प्रश्न सोध्ने अवसर सहभागीहरूले पाए। साथै, सहभागीहरूले फ्लो ब्याट्री प्रविधिलाई नजिकबाट अवलोकन गर्नुका साथै अनुसन्धानकर्तासँग प्रत्यक्ष प्रश्नोत्तर गर्ने अवसर पाए।
एसएलएफबी प्रविधिको विकास घाम पावर, युनिभर्सिटी अफ साउथह्याम्प्टन, एसओलिड इनर्जी र स्वानबार्टन बीचको सहकार्यमा भइरहेको छ, जसले अन्तर्राष्ट्रिय अनुसन्धान विशेषज्ञता र स्थानीय ज्ञानलाई एकसाथ ल्याई प्रविधिलाई नेपालको परिस्थिति अनुसार अनुकूलन गर्दैछ।
नेपालको स्वच्छ ऊर्जा क्षेत्रतर्फको महत्त्वाकांक्षा बढ्दै जाँदा, एसएलएफबीले नेपालकै स्रोत र आवश्यकतासँग मेल खाने, पुनःप्रयोग गरिएको सामग्रीमा आधारित स्वदेशी समाधान प्रदान गर्छ। यस कार्यक्रमले पत्रकार, ऊर्जा क्षेत्रका प्रतिनिधि तथा स्वच्छ ऊर्जा उत्साहीहरूलाई प्रविधि प्रत्यक्ष नियाल्ने र नेपालको ऊर्जा भण्डारण भविष्यबारे छलफल गर्ने अवसर दिए।
घाम पावरको बारेमा
सन् २०१० मा स्थापना भएको घाम पावर नेपाल प्रा.लि. एक सौर्य ऊर्जा कम्पनी हो, जसले ४,००० भन्दा बढी आयोजनामार्फत १८ मेगावाट सौर्य क्षमता स्थापना गर्दै ८८,६३६ टन बढी कार्बन उत्सर्जन (सीओ₂) घटाएको, ३३,०७३ बढी किलोलिटर डिजेल विस्थापन गरेको र ६०,००० बढी जनजीवनमा सकारात्मक प्रभाव पारेको छ।
सौर्य प्रविधिलाई स्मार्ट डाटा प्रणालीसँग एकीकृत गर्दै कम्पनीले उद्योग, ग्रामीण समुदाय र कृषि क्षेत्रलाई ऊर्जा दिँदै, जीवाश्म ईन्धनको विकल्पमा भरपर्दो स्वच्छ ऊर्जा पुर्याउने लक्ष्यसहित, संयुक्त राष्ट्रसंघको दिगो विकास लक्ष्य एससुलभ स्वच्छ ऊर्जा, मर्यादित काम र आर्थिक वृद्धि, र जलवायु कार्यसँग मेल खान्छ।












