रसुवा विपद्: पहिचान र पुष्टिको काम वर्षौँ लम्बिने, बेपत्ताको तथ्याङ्कमा अन्योल
काठमाडौँ । रसुवा विपद्को दुई साता बितिसक्दा पनि मानवीय क्षतिको वास्तविक र पूर्ण विवरण पाउन अझै लामो समय लाग्ने देखिएको छ। बाढीले निम्त्याएको यो अकल्पनीय क्षतिपछि पीडित परिवारहरूले आफ्ना मानिसको अवस्थाबारे स्पष्ट जानकारी पाउन वर्षौँ पर्खनुपर्ने अवस्था आएको सम्बन्धित अधिकारीहरूले बताएका छन्।
विपद्को आकार यति ठूलो छ कि यसअघि कहिल्यै नभोगिएको जटिलता र सकस अहिले सुरक्षा निकाय तथा सरकारी अधिकारीहरूले झेलिरहेका छन्।
हराएका र बेपत्ता भएका व्यक्तिको यथार्थ तथ्याङ्क सङ्कलन गर्ने क्रममा सरकारी निकायहरूबीच नै तालमेलको कमी देखिएको छ। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण र नेपाल प्रहरीले सार्वजनिक गरेका तथ्याङ्कमा करिब तेह्र सयको ठूलो अन्तर भेटिएको छ।
प्राधिकरणले पाँच हजारभन्दा बढी मानिस सम्पर्कविहीन रहेको बताइरहँदा प्रहरीले भने करिब चार हजार एक सय जना मात्र बेपत्ता रहेको उल्लेख गरेको छ। कानुन अनुसार शवको पहिचान नभइसकेसम्म सम्पर्कविहीनको सूचीबाट हटाउन नमिल्ने हुँदा यो सङ्ख्यामा अन्योल थपिएको अधिकारीहरूको भनाइ छ।
विभिन्न स्थानबाट फेला परेका करिब चौध सयवटा शवमध्ये लगभग पाँच सयवटा शवका आंशिक अङ्ग मात्रै भेटिएका छन्। तीमध्ये पनि हालसम्म करिब एक सयवटा शव मात्र परिवारले बुझ्न सकेका छन्। कतिपय शव अत्यधिक गेग्रान र लेदोमा पुरिएका कारण कहिल्यै फेला नपर्न सक्ने आशङ्का पनि उत्तिकै छ।
भारतको सिमानासम्म पुग्नेगरी नदीका दुवै किनारमा खोजी कार्य तीव्र पारिए पनि भेटिएका अवशेषहरूको पहिचान गर्न ठूलै चुनौती थपिएको छ। अनुहार चिन्न सक्ने अवस्थामा शव नरहेकाले ट्याटु वा अन्य सीमित चिनारीका आधारमा मात्रै अत्यन्त कम शव परिवारलाई जिम्मा लगाइएको छ।
फरेन्सिक जाँच र डीएनए परीक्षण नै अबको मुख्य विकल्प बनेको छ। नेपालमा उपलब्ध प्रयोगशालाहरूको सीमित क्षमताका कारण हजारौँको सङ्ख्यामा आवश्यक पर्ने डीएनए म्याचिङको काम सम्पन्न गर्न महिनौँ वा वर्षौँ लाग्न सक्ने विज्ञहरूको अनुमान छ। ७६ वटै जिल्लाबाट प्रभावित परिवारका नमूना सङ्कलन गर्ने काम भइरहे पनि यो प्रक्रिया निकै लामो र पेचिलो बन्ने निश्चितप्रायः छ।
विदेशी विज्ञ तथा आधुनिक उपकरणहरूको सहयोग लिइए पनि अझै पनि धेरै परिवारहरू आफ्ना आफन्तको लास वा सासको प्रतीक्षामा अनिश्चितताको लामो बाटो हिँड्न बाध्य छन्।












