दुई महिनाका लागि बैंकिङ प्रणालीबाट थप ५५ अर्ब रूपैयाँ तान्दै राष्ट्र बैंक
काठमाडौं । बैंकिङ प्रणालीमा अधिक तरलता थुप्रिएपछि नेपाल राष्ट्र बैंकले निक्षेप संकलन उपकरणमार्फत बजारबाट पैसा खिच्ने क्रमलाई निरन्तरता दिएको छ।
यसैक्रममा केन्द्रीय बैंकले आज भदौ २४ गते फेरि ५५ अर्ब रुपैयाँ तान्न लागेको हो। यसअघि गत साेमबार पनि राष्ट्र बैंकले ३५ अर्ब रुपैयाँ तानेकाे थियाे ।
निक्षेप संकलनको यो बोलकबोल ब्याजदरका आधारमा हुनेछ भने यसमा ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्था मात्र सहभागी हुन पाउनेछन्। आज अपराह्न ३ बजेसम्म राष्ट्र बैंकको अनलाइन बिडिङ सिस्टममार्फत बोलकबोल हुनेछ।
निक्षेप दिन चाहने बैंक तथा वित्तीय संस्थाले घटीमा १० करोड रुपैयाँ र बढीमा १० करोड रुपैयाँले भाग जाँदा निःशेष भाग जाने गरी कुल आह्वान रकमसम्म आवेदन दिन सक्नेछन्।
५६ दिन अवधिको यो निक्षेप संकलन उपकरणको साँवा तथा ब्याज आगामी कात्तिक १८ गते भुक्तानी हुने राष्ट्र बैंकले जनाएको छ।












