आज संघीय संसद्का दुवै सदनको बैठक बस्दै, यस्तो छ कार्यसूची
काठमाडौँ । संघीय संसद्का प्रतिनिधिसभा र राष्ट्रियसभा दुवैको बैठक आज बस्ने भएको छ। संसद् सचिवालयका अनुसार प्रतिनिधिसभाको बैठक दिउँसो १ बजे तथा राष्ट्रियसभाको बैठक त्यसको १५ मिनेटपछि अर्थात् १:१५ बजे सुरु हुनेछ।
प्रतिनिधिसभा बैठकमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले ‘नागरिक लगानी कोष (तेस्रो संशोधन) विधेयक, २०८३’ र ‘भुक्तानी तथा फर्स्योट (पहिलो संशोधन) विधेयक, २०८३’ प्रस्तुत गर्ने सम्भावित कार्यसूची रहेको छ। साथै, ‘कर्मचारी सञ्चय कोष (दशौँ संशोधन) विधेयक, २०८३’ माथि विचार गरियोस् भन्ने प्रस्ताव पनि अर्थमन्त्री वाग्लेले सभामा पेस गर्नेछन्।
त्यसैगरी, कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले एसियाली विधायिकी संस्थाहरूको परिषद्को सदस्यता प्राप्त गर्ने विषयमा सामान्य छलफलका लागि प्रस्ताव अघि बढाउने कार्यक्रम छ।
आजको प्रतिनिधिसभा बैठकमा राष्ट्रियसभाका पूर्वसदस्य शुक्रराज संयोकको निधनप्रति शोक प्रस्तावसमेत प्रस्तुत गरिनेछ।
उता, राष्ट्रियसभाको बैठकमा प्रधानमन्त्री वालेन्द्र शाहले राष्ट्रिय मानव अधिकार आयोगका आर्थिक वर्ष २०८०/८१ र २०८१/८२ का वार्षिक प्रतिवेदन सदनसमक्ष पेस गर्ने कार्यसूची पनि आजै छ।
राष्ट्रियसभामा नै प्रधानमन्त्री शाहले विधायन व्यवस्थापन समितिको प्रतिवेदनसहित प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त ‘नेपाल विशेष सेवा ऐन, २०४२ को साबिकको व्यवस्था जगाउने सम्बन्धी विधेयक, २०८३’ माथि छलफल गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन्।
उक्त प्रस्तावमाथि राष्ट्रियसभामा छलफलपछि त्यसलाई पारित गर्ने सम्भावित कार्यसूची रहेको संघीय संसद् सचिवालयले जनाएको छ।












