इरान र चीनबीच तेल र हतियार साटासाट गर्ने गुप्त बार्टर प्रणाली!
काठमाडाैँ । अमेरिकी आर्थिक प्रतिबन्धको जालोलाई पूर्ण रूपमा छल्दै इरानले चीनसँग तेलको बदलामा अर्बौं डलरका अत्यावश्यक वस्तु तथा सैन्य सामग्री खरिद गरिरहेको खुलासा भएको छ। अन्तर्राष्ट्रिय प्रतिबन्धबाट बच्न तेहरान र बेइजिङले कूटनीतिक र आर्थिक च्यानलहरूलाई पूर्ण रूपमा छलेर एक गुप्त बार्टर प्रणाली अभ्यासमा ल्याएका हुन्।
इरान र चीनबीच वर्षौंदेखि चल्दै आएको यो गोप्य प्रणालीअनुसार इरानले चीनलाई कच्चा तेल आपूर्ति गर्छ र त्यसबापत प्राप्त हुने रकम चीनबाट विभिन्न सामान आयात गर्ने क्रेडिटका रूपमा प्रयोग गरिन्छ। अन्तर्राष्ट्रिय बैंकिङ प्रणालीको प्रत्यक्ष निगरानीबाट बाहिर रहेर सञ्चालन हुने यो संयन्त्रले अमेरिकी दबाबका बीच इरानलाई आर्थिक जीवनदान दिँदै आएको छ।
विश्वको सबैभन्दा ठूलो कच्चा तेल आयातकर्ता चीनले पनि यसै प्रणालीमार्फत आफ्ना बैंक तथा कम्पनीहरूलाई अन्तर्राष्ट्रिय दण्ड वा जरिवानाबाट जोगाउँदै छुटको दरमा इरानी तेल प्राप्त गरिरहेको छ। अमेरिकी अर्थ मन्त्रालय र प्रशासनले इरानसँगको व्यावसायिक सम्बन्ध तोड्न चेतावनी दिए पनि यो गुप्त प्रणालीका कारण बेइजिङले अमेरिकी दबाबलाई बेवास्ता गर्दै आएको छ।
स्रोतका अनुसार इरानले यही गुप्त संयन्त्रमार्फत चीनबाट औषधि, सवारीसाधन, सञ्चार उपकरण र करोडौं मूल्यका हवाई रक्षा उपकरणहरू आयात गरेको छ। चीनका प्रत्यक्ष निर्माताहरूले इरानसँग सोझै कारोबार नगर्ने हुनाले उनीहरू प्रतिबन्धको दायरामा परेका छैनन्।
सन् २०२१ यता प्रभावकारी रूपमा प्रयोग हुँदै आएको यस प्रणालीमार्फत पछिल्लो एक वर्षमा मात्रै दुईदेखि अढाई अर्ब डलर बराबरको कारोबार भएको छ। चीनको वाणिज्य मन्त्रालय र इरानको केन्द्रीय बैंकसँग जोडिएका संस्थाहरूले यस संयन्त्रको कोष व्यवस्थापन गर्दै आएका छन् भने जुहाइ झेनरोङ जस्ता चिनियाँ तेल व्यापारीहरूमार्फत यो वित्तीय चक्र घुमाइने गरेको छ।
अमेरिकाले आफ्नो परमाणु कार्यक्रम र प्रतिबन्धको दायरा थप कडा बनाउँदै लैजाँदा इरानका लागि चीन नै सबैभन्दा ठूलो र लगभग एक मात्र तेल खरिदकर्ता बनेको छ। सन् २०२५ मा इरानबाट निर्यात भएको कुल तेलको ८० प्रतिशतभन्दा बढी हिस्सा एक्लै चीनले खरिद गरेको थियो।
पश्चिमी देशहरूको एकपक्षीय प्रतिबन्धको कडा विरोध गर्दै आएका बेइजिङ र तेहरानले अन्तर्राष्ट्रिय प्रतिबन्धलाई छल्न अपनाएको यो उपायलाई एक रणनीतिक चालका रूपमा हेरिएको छ। अमेरिकी प्रतिबन्धको प्रत्यक्ष मारबाट बच्न र अन्तर्राष्ट्रिय वित्तीय प्रणालीबाट बहिष्कार हुन नपरोस् भनी चीनले यस कारोबारमा ‘प्लजिबल डिनायबिलिटी’ अर्थात् आधिकारिक रूपमा अनभिज्ञता प्रकट गर्ने नीति अपनाएको छ।
राेयटर्सबाट ।












