भोटेकोशी बाढीपीडितका लागि तयारी पोशाक उद्योग संघद्वारा साढे ३३ लाख सहयोग हस्तान्तरण
भोटेकोशी बाढी प्रभावितको उद्धार, राहत र पुनर्स्थापनाका लागि नेपाल तयारी पोशाक उद्योग सङ्घले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ३३ लाख ३३ हजार ३ सय ३३ रुपैयाँ आर्थिक सहयोग गरेको छ।
काठमाडाैँ । रसुवाको भोटेकोशी नदीमा तिब्बत क्षेत्रबाट आएको विनाशकारी बाढीका कारण सिर्जना भएको गम्भीर मानवीय सङ्कटप्रति नेपाल तयारी पोशाक उद्योग सङ्घले गहिरो दुःख व्यक्त गरेको छ। बाढीले ठूलो जनधनको क्षति पुर्याएको भन्दै सङ्घले दुर्घटनामा परी ज्यान गुमाउनेहरूप्रति भावपूर्ण श्रद्धाञ्जलि अर्पण गरेको छ।
साथै, शोकसन्तप्त परिवारजनमा हार्दिक समवेदना प्रकट गर्दै बेपत्ता नागरिकहरूको खोजी कार्य तीव्र पार्न र घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरिएको छ। विपद्को यो कठिन समयमा सरकार, सुरक्षा निकाय र स्थानीय तहमार्फत उद्धार तथा सुरक्षित स्थानान्तरणका लागि भइरहेका प्रयासहरूको सङ्घले खुलेर प्रशंसा गरेको छ।
संकटको यही घडीमा प्रभावितहरूको राहतका लागि नेपाल तयारी पोशाक उद्योग सङ्घले आर्थिक सहयोग हस्तान्तरण गरेको छ। सङ्घ र यसका सदस्यहरूको तर्फबाट माननीय अर्थमन्त्रीलाई भेटेर प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा हुने गरी ३३ लाख ३३ हजार ३ सय ३३ रुपैयाँ बराबरको चेक औपचारिक रूपमा हस्तान्तरण गरिएको हो।
संघका अध्यक्ष पशुपति देव पाण्डेले अर्थमन्त्री स्वर्णिम वाग्लेलाइ भेटेर विहीबार उक्त चेक हस्तान्तरण गरेका हुन् । संघकाे नेतृत्व पङ्ति साथमै लिएर अर्थ मन्त्रालय पुगेका अध्यक्ष पाण्डेले सबै खाले जरूरी सेवा र सहयाेग गर्न तयार रहेकाे बताएका छन् ।
यसका साथै सङ्घका आबद्ध उद्योगहरूले पनि आ-आफ्नो ठाउँबाट व्यक्तिगत तथा संस्थागत रूपमा सोही कोषमा आर्थिक सहयोग जुटाइरहेका छन्।
तात्कालिक आवश्यकतालाई मध्यनजर गर्दै सङ्घले आर्थिक सहयोग मात्र नभई भौतिक सामग्री पनि वितरण गरिरहेको छ। सङ्घका सदस्य तथा अन्तर्राष्ट्रिय क्रेताहरूको समेत संयुक्त सहकार्यमा बाढीपीडित तथा प्रभावित क्षेत्रका नागरिकहरूलाई न्यानो कपडा, तयारी पोशाक र अन्य अत्यावश्यक सामग्रीहरू राहतस्वरूप उपलब्ध गराइएको छ।
यस प्रकारको सहयोगले बाढी प्रभावितहरूलाई चिसो र जटिश्रत परिस्थितिसँग जुध्न केही हदसम्म राहत पुग्ने अपेक्षा गरिएको छ।
आपत्कालीन राहत वितरणले मात्रै विस्थापित नागरिकहरूको जीवन सहज नहुने ठहर गर्दै सङ्घले दीर्घकालीन योजनाको खाँचो औंल्याएको छ। विपद्बाट प्रभावित परिवार र समग्र समुदायलाई सामान्य जीवनतर्फ फर्काउन अब तत्कालीन राहतसँगै दीर्घकालीन पुनर्स्थापनालाई प्राथमिकता दिनुपर्नेमा जोड दिइएको छ।
बाढीले थलिएको स्थानीय आर्थिक गतिविधिलाई पुनरुत्थान गर्ने तथा सङ्कटका कारण प्रभावित भएका रोजगारीका अवसरहरूको संरक्षण र सिर्जना गर्न सम्बन्धित सबै पक्ष गम्भीर बन्नुपर्ने सङ्घको बुझाइ छ।
विपद्को यो कहालीलाग्दो घडीमा प्रभावित सम्पूर्ण नागरिकहरूप्रति अटुट ऐक्यबद्धता रहेको सङ्घले स्पष्ट पारेको छ। सरकार र अन्य सामाजिक सङ्घसंस्थाहरूसँग हातेमालो गर्दै आगामी दिनमा पनि उद्धार, राहत, पुनर्स्थापना र रोजगारी पुनःस्थापनाका हरेक चरणमा आवश्यक सहयोग र सहकार्य जारी राख्ने प्रतिबद्धता नेपाल तयारी पोशाक उद्योग सङ्घले व्यक्त गरेको छ।












