पितृप्रतिको समर्पण र श्रद्धाको पर्व, आज कुशे औंसी तथा बुबाको मुख हेर्ने दिन
वर्षभरि गरिने देवकार्य तथा पितृकार्यका लागि घरघरमा पवित्र कुश भित्र्याइनुका साथै सनातन संस्कार र श्रद्धासहित देशभर बुबाको मुख हेर्ने विशेष पर्व मनाइँदैछ।
काठमाडाैँ । सनातन संस्कार र सांस्कृतिक परम्परामा विशेष महत्त्व बोकेको भाद्र कृष्ण औँसी अर्थात् कुशे औँसीको यो दिन नेपाली समाजमा गहिरो आस्था र उल्लासका साथ मनाइन्छ।
वर्षभरि घरमा गरिने विभिन्न देवकार्य तथा पितृकार्यका लागि नचाहिँदो ढिलासुस्ती नगरिकन आजकै दिन पवित्र वनस्पति कुशलाई विधिपूर्वक घरमा भित्र्याउने परम्परा रहेको छ।
हिन्दू वैदिक परम्परामा यस दिनको आगमनसँगै पारिवारिक एकता, आदर र पितृप्रतिको श्रद्धाले विशेष रूप पाउने गर्दछ। धर्मशास्त्र र ग्रन्थहरूमा समेत यस वनस्पतिको महिमा र उपादेयता प्रष्ट्याइएको पाइन्छ।
घरघरमा कुश भित्र्याउने परम्परा
हाम्रो सनातन हिन्दु परम्पराअनुसार कुशलाई भगवान् विष्णुको प्रतीक तथा अत्यन्त पवित्र वनस्पतिका रूपमा लिइन्छ। जन्मदेखि मृत्युसम्मका हरेक संस्कार, देवकर्म र पितृकार्यमा कुशको अनिवार्यता रहन्छ।
सामान्यतया अन्य दिन उखेलेको कुश एक दिन मात्र प्रयोगमा आउने भए पनि कुशे औँसीका दिन, अझ त्यसमाथि सोमबार परेको साइतमा उखेसिएको कुशले बाह्र वर्षसम्म ऊर्जा शक्तिसहित काम गर्ने जनविश्वास रहिआएको छ।
आजको दिन बिहान सबेरै नदी तथा तीर्थस्थलमा गई स्नान गर्ने र नबोलीकन कुश उखेलेर घरका विभिन्न भागमा राख्ने चलन छ।
यसै क्रममा काठमाडौंको गोकर्णेश्वर महादेव, पशुपति, रसुवाको बेत्रावती, देवघाट तथा वराहक्षेत्र लगायतका पवित्र तीर्थस्थलहरूमा दिवंगत पितृहरूको नाममा तर्पण, पिण्डदान र श्राद्ध गर्ने भक्तजनहरूको घुइँचो लाग्ने गर्छ।
यस वर्ष बेत्रावतीमा बाढीले सबै ध्वस्त पारेका कारण याे मेला लाग्न सम्भव छैन । रसुवा भाेटेकाेशी (त्रिशुली) नदीमा उर्लिएकाे विध्वंशक भेलबाढीले उत्तरगया भनिने बेत्रावती धाम ध्वस्त पारेकाे छ । अन्यत्र भने याे मेला यथास्थितिमा लाग्ने छ ।
कुशको वैज्ञानिक र आयुर्वेदिक महत्त्व
धार्मिक आस्थामा मात्र सीमित नरही कुशलाई वैज्ञानिक र आयुर्वेदिक दृष्टिकोणबाट पनि उत्तिकै चमत्कारिक मानिएको छ। यो धारिलो घाँसले वातावरणमा रहेका हानिकारक विकिरण तथा नकारात्मक तरंगहरूलाई निस्तेज पार्न सक्ने क्षमता राख्ने वैज्ञानिक परीक्षणहरूले समेत पुष्टि गरेका छन्।
दाहिने हातको औंलामा कुशको औंठी लगाउँदा वा पूजापाठ गर्दा त्यसले मानव शरीरमा सकारात्मक ऊर्जा प्रवाह गर्ने विश्वास गरिन्छ।
त्यसैगरी, नेपालका विभिन्न भूभागमा पाइने यस वनस्पतिको जरा र पातको प्रयोगद्वारा रक्तसञ्चारलाई सन्तुलित राख्ने, रोग प्रतिरोधात्मक क्षमता बढाउने तथा विभिन्न प्रकारका शारीरिक समस्याहरूलाई नियन्त्रण गर्न सहयोग पुग्ने आयुर्वेदिक ग्रन्थहरूमा उल्लेख छ।
पिताप्रति सम्मान र कृतज्ञता
कुशे औँसीलाई विशेष रूपमा ‘बुबाको मुख हेर्ने दिन’ वा पिताप्रतिको अटल सम्मान प्रकट गर्ने पर्वका रूपमा पनि मनाइन्छ। संसारमा आमाबुबा नै प्रत्यक्ष रूपमा देखिएका जीवित भगवान् मानिन्छन्।
बाल्यकालमा ‘तातेताते’ गरेर हिँड्न सिकाउने, जीवनको जटिलताहरूसँग जुध्न प्रेरणा दिने र अहोरात्र खटिएर परिवारको सुरक्षा गर्ने बुबाको योगदान शब्दमा बयान गर्न सकिँदैन।
आजको दिन जीवित पिता हुनेहरूले उहाँलाई मनपर्ने मीठा मिष्ठान्न, फलफूल, वस्त्र तथा उपहारहरू प्रदान गरी आशीर्वाद लिन्छन्। टाढा वा परदेशमा रहेका सन्तानहरूले फोन तथा भिडियो कलमार्फत आफ्ना बाबालाई सम्झने र स्वास्थ्यको कामना गर्ने गर्दछन्।
भौतिक रूपमा नभएका पिताहरूको स्मृतिमा तस्बिर हेरेर तथा विभिन्न धार्मिक पीठमा पुगी आत्माको चिरशान्तिको कामना गर्दै विशेष पूजापाठ गरिन्छ।
मोतीराम भट्टको स्मरण
कुश भित्र्याउने र बुबालाई सम्झने व्यस्तताकै बीच आज नेपाली साहित्यका उज्ज्वल नक्षत्र तथा युवा कवि मोतीराम भट्टको जन्मजयन्ती पनि हर्सोल्लासका साथ मनाइँदैछ। दरबार हाइस्कुलमा पढेर हुर्किएका मोतीरामले छोटो आयुमै नेपाली साहित्य, समालोचना र भाषाको श्रीवृद्धिमा पुर्याएको योगदान अतुलनीय छ।
आदिकवि भानुभक्त आचार्यका छरिएर रहेका कृतिहरूलाई खोजबिन गरी जनसमक्ष ल्याउने श्रेय उनकै मिहिनेतलाई जान्छ।
राष्ट्रियता, नेपालीपन र साहित्यिक चेतले ओतप्रोत भई उनले नेपाली भाषाको सांगीतिक तथा सिर्जनात्मक धारलाई नयाँ उचाइमा पुर्याएका थिए। याे पर्वको अवसरमा नेपाली समाजले पितृप्रतिको श्रद्धासँगै आफ्ना स्रष्टा र धरोहरहरूप्रति पनि गहिरो सम्मान प्रकट गरिरहेको छ।












