बैंकिङ प्रणालीबाट आज फेरि ७० अर्ब रूपैयाँ तान्दै राष्ट्र बैंक
काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज शुक्रबार पनि बजारबाट ७० अर्ब रूपैयाँ तान्ने भएकाे छ।
राष्ट्र बैंककाे मौद्रिक व्यवस्थापन विभागले वित्तीय प्रणालीमा रहेको तरलता व्यवस्थापनका लागि ५६ दिनका लागि यो निक्षेप संकलन आह्वान गरेको हो।
यसकाे बोलकबोल प्रक्रिया आज दिउँसो ३:०० बजेसम्म राष्ट्र बैंकको अनलाइन बिडिङ सिस्टममार्फत सञ्चालन हुनेछ।
निष्काशन मिति पनि भदौ २६ गते नै तोकिएको छ भने यसको साँवा तथा ब्याज भुक्तानी आगामी २०८३ कात्तिक २० गते गरिनेछ। यस उपकरणको ब्याजदर बोलकबोलको माध्यमबाटै निर्धारण हुने राष्ट्र बैंकले जनाएको छ।
राष्ट्र बैंकबाट अनुमतिप्राप्त ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थाहरू मात्र यस बोलकबोलमा सहभागी हुन पाउनेछन्। सहभागीहरूले घटिमा १० करोड र बढीमा १० करोड रूपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी कुल आह्वान रकम (७० अर्ब) सम्म बोलकबोल गर्न सक्नेछन्।
निक्षेप संकलन उपकरणको बोलकबोल ब्याजदरमा गर्नुपर्नेछ भने बहुब्याजदरमा पनि बहुबोलकबोल गर्न सकिने सुविधा दिइएको छ।












