तीजको समयमा सुनको मूल्यमा उतारचढाव, याे साता घट्यो कि बढ्याे?
काठमाडौं । तीजको अवधिमा नेपाली बजारमा सुनको मूल्यमा निरन्तर उतारचढाव देखिएको छ। एक साताको अवधिमा सुनको मूल्य प्रतितोला ६ हजार ४०० रुपैयाँले घटेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार भदौ २० गते शनिबार प्रतितोला ३ लाख ७ हजार ४०० रुपैयाँ रहेको सुनको मूल्य भदौ २६ गते शुक्रबारसम्म आइपुग्दा घटेर ३ लाख १ हजार रुपैयाँमा सीमित भएको हो।
साताको कारोबारमा सुनको मूल्य स्थिर भने रहेन। भदौ २१ गते आइतबार अघिल्लो दिनको तुलनामा ३ हजार १०० रुपैयाँ कमी आएपछि प्रतितोला ३ लाख ४ हजार ३०० रुपैयाँमा कारोबार भयो।
त्यसपछि भदौ २२ गते सोमबार पनि मूल्य घट्यो। सो दिन सुनको मूल्य थप २ हजार ४०० रुपैयाँ घटेर प्रतितोला ३ लाख १ हजार ९०० रुपैयाँ कायम भयो।
तर, भदौ २३ गते मंगलबार बजारमा पुनः मूल्य वृद्धि देखियो। उक्त दिन सुनको भाउ एकैपटक ३ हजार ५०० रुपैयाँले बढ्दै प्रतितोला ३ लाख ५ हजार ४०० रुपैयाँ पुग्यो।
बढेको मूल्य भने अर्को दिन टिक्न सकेन। भदौ २४ गते बुधबार सुनको मूल्य फेरी ३ हजार रुपैयाँले घटेर प्रतितोला ३ लाख २ हजार ४०० रुपैयाँमा झर्यो।
भदौ २५ गते बिहीबार फेरि मूल्य उकालो लाग्यो। सो दिन प्रतितोला ३ हजार ४०० रुपैयाँले बढेर सुन ३ लाख ५ हजार ८०० रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ।
साताको अन्तिम कारोबार दिन अर्थात् भदौ २६ गते शुक्रबार भने सुनको मूल्यमा ठूलो गिरावट आयो। एकैदिन ४ हजार ८०० रुपैयाँ घटेपछि सुन प्रतितोला ३ लाख १ हजार रुपैयाँमा कारोबार सीमित भएको छ।
अन्तर्राष्ट्रिय कारणले प्रभावित हुन्छ मूल्य
सुनको स्थानीय मूल्य निर्धारणमा अन्तर्राष्ट्रिय बजारमा हुने माग, अमेरिकी डलरको विनिमय दर तथा विश्वको आर्थिक र राजनीतिक अवस्थाले प्रभाव पार्ने गर्छ। यिनै कारणले नेपाली बजारमा समेत सुनको मूल्यमा समयअनुसार उतारचढाव देखिने व्यवसायीहरू बताउँछन्।
सुन व्यवसायीहरूका अनुसार हाल सुनको मूल्यलाई तत्काल थप उकालो लैजाने बलियो आधार देखिएको छैन।
यसअघि अमेरिका, इरान र रुसबीच देखिएको तनाव तथा होर्मुज जलमार्गमा उत्पन्न अवरोधलगायतका अन्तर्राष्ट्रिय घटनाक्रमले सुनको मूल्य बढाउन भूमिका खेलेका थिए। पछिल्लो समय भने यस्ता द्वन्द्व तथा युद्धजन्य अवस्था केही स्थिर हुनसक्ने अपेक्षा बढेकाले अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य पनि सन्तुलनतर्फ आउन थालेको एक सुन व्यवसायीले बताएका छन्।












