बाल दिवसमा रमाए जेनजी सहिदका सन्तान र बाढी प्रभावित बालबालिका, जोडे मित्रताको साइनो
पीडाको प्रकृति फरक, तर चोट एउटै । कोही एक वर्षअघिको जेनजी आन्दोलनमा अभिभावक गुमाएका थिए भने कोहि चाहिँ यही भदौ १० को भोटेकोशी–त्रिशुली बाढीको प्रकोपबाट घरबार र आफन्त गुमाएका । तर बालबालिकाको लागि यी पीडाका बीच पनि खेल्नु, रमाउनु, मनोरन्जन गर्नु बालअधिकारको अनिवार्य अन्तरवस्तु थियो ।
यसैलाई मनन् गर्दै गोल्याण ग्रुपको सामाजिक सहकार्यात्मक संस्था गोल्याण फाउण्डेशनले त्रिशुली नदी किनारमा राष्ट्रिय बाल दिवस कार्यक्रम आयोजना गर्यो, जहाँ बाढी प्रभावित बालबालिका र जेनजी सहिदका सन्तानहरु एकै थलोमा बसेर रमाए । एकअर्काबीच चिनजान गरे, मित्रता गाँसे । अनि, बाल दिवस मनाए ।

यो कार्यक्रम कसरी जुर्यो त ?
गोल्याण फाउण्डेशनका प्रमुख कार्यकारी अधिकृत (सीईओ) तथा गोल्याण ग्रुपका कर्पोरेट अफेयर्स एण्ड कम्युनिकेशन्स प्रमुख ज्योति गैह्रेका अनुसार फाउण्डेशनले दुबैथरि बालबालिकाको लागि काम गर्ने सन्दर्भमा बाल दिवसको सन्दर्भ जुरेको हो । एक वर्षदेखि जेनजी सहिदका सन्तानलाई पढाइरहेको फाउण्डेशनले भर्खरै बाढीले प्रभावित बनेका बालबालिकालाई पनि विदुर नगरपालिका–५ को चन्द्रज्योति मावि होल्डिङ सेन्टरमा भोजनका साथै बालमनोसामाजिक परामर्श, खेल तथा शैक्षिक सामग्री प्रदान गरिरहेको छ ।
‘यही अवस्थामा हामीले बालबालिकालाई एकै ठाउँमा राखेर बाल दिवस मनाउनुपर्छ भनेर विदुरमा यो कार्यक्रम आयोजना गरिएको हो,’ गैह्रेले भनिन् ।
यसको लागि गोल्याण फाउण्डेशनले काठमाडौंमा अध्ययनरत १५ जना सहिदका बालबालिका र उनीहरुका अभिभावकलाई विदुर लग्यो । विदुरको चन्द्रज्योति मावि होल्डिङ सेन्टरमा करिब ६० जना बालबालिका थिए । कार्यक्रम आयोजनाको प्रमुख उद्देश्य बाल दिवसको अवसरमा बालबालिकालाई एकआपसमा भेटघाट गराउने र रमाइलो वातावरणमा दिवस मनाउने थियो । भयो पनि त्यसै । फेस पेन्टिङ गर्नेदेखि बालमनोरन्जनात्मक विभिन्न खेलहरु भए, जसले बालमष्तिस्कमा मनोरमता थपिदियो ।

फरक भूगोल र फरक परिवेशका बालबालिकाबीच क्षणभरमै गहिरो चिनजानमात्र भएन, उनीहरुबीच मित्रताको साइनो पनि जोडियो । यसले भविष्यमा उनीहरुलाई सँगसँगै डोर्याउने छ। कार्यक्रममा बालबालिका र उनीहरुका अभिभावकसमेत गरी करिबा १२० जना सहभागी थिए ।
‘फरक–फरक मनोसामाजिक समस्याबाट प्रभावित भएका बालबालिकाहरुलाई एकै थलोमा भेला गरेर बालअधिकार दिवस मनाउने कामले निकै राम्रो प्रभाव छोडेको छ,’ बाढीप्रभावित समेत रहेका विदुर नगरपालिका वडा नं. ५ का वडा सदस्य विनोद चित्रकारले भने, ‘गोल्याण फाउण्डेशनको यो कार्यले बालबालिकालाई खुसी प्रदान गर्र्नु सबैको दायित्व हो भन्ने सन्देश दिएको छ ।’
सहिद परिवारका सदस्य पार्वती अधिकारीले कार्यक्रमले बालबालिकाको मुहारमा खुसी थपेको बताइन् । ‘एक वर्षदेखि साथी बनेका हाम्रा (सहिद) का बालबच्चाहरुले त्यहाँ गएर नयाँ साथीहरु बनाए, हामीलाई पनि बाढीप्रभावितको पीडा बुझ्ने अवसर मिल्यो,’ उनले भनिन्, ‘ यसबाट जीवनमा दुःख, पीडा जेजस्तो आइलागे पनि सहनुपर्छ भन्ने शक्ति मिलेको छ ।’
गोल्याण फाण्डेशनकी सीईओ गैह्रेले अवोध अवस्थामै धेरै थोक गुमाएका बालबालिकाको मुहारमा मुस्कान फर्काउनु आफूहरुको उद्देश्य रहेको बताइन् । ‘फाउण्डेशनले एक वर्षदेखि सहिदका सन्तानको शिक्षाको अधिकार मजबुत बनाइहेको छ, पछिल्लो समय बाढी प्रभावितको लागि होल्डिङ सेन्टरमा भोजन र व्यवस्थापकीय काम गरिरहेको छ,’ उनले भनिन्, ‘त्योभन्दा ठूलो कुरा हामीले बालबालिकाको बालसुलभ निर्दोषपन जोगाउन र उनीहरुको खुसी हुने अधिकारको सम्मान गर्न सकेका छौं।’
बालबालिकाको हाँस्न पाउने, असीमित सपना देख्न पाउने र बाल्यकालको उपहारको आनन्द लिने पाउने वातावरण सुनिश्चित गर्न कार्यक्रम आयोजना गरिएको उनले बताइन् ।
गोल्याण फाउण्डेशनले जेनजी सहिदका ३१ बालबालिकालाई कक्षा १२ सम्मको शैक्षिकवृत्ति प्रदान गरी पढाइरहेको छ । उनीहरुलाई मासिक ४० हजारको दरले वार्षिक ४ लाख ८० हजार रुपैयाँसम्मको शैक्षिकवृत्ति प्रदान गरिएको छ ।

तस्विरहरु : गोल्याण फाउण्डेशनले राष्ट्रिय बाल दिवसको अवसरमा नुवाकोटको विदुर नगरपालिका–५ स्थित चन्द्रज्योति मावि होल्डिङ सेन्टरमा आयोजना गरेको कार्यक्रममा खेल्दै, रमाउँदै बालबालिकाहरु ।












