२९ भदौ २०८३, सोमबार

दशैंका बेला बैंक काउन्टरमा भीड घटाउन राष्ट्र बैंकको नयाँ तरिका, अब एटीएमबाटै पाइनेछ १०० रुपैयाँका नोट



महान् चाड बडादशैंको समयमा बैंकका काउन्टरमा साना नोट साट्ने अत्यधिक भीडलाई कम गर्न नेपाल राष्ट्र बैंकले एटीएम मेसिनमार्फत नै १०० रुपैयाँ दरका नोट उपलब्ध गराउन बैंकहरूलाई पत्राचार गरेको छ।

काठमाडाैँ । आसन्न बडादशैंलाई लक्षित गर्दै नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरूलाई आफ्ना एटीएम मेसिनहरूबाट ५०० र १ हजार रुपैयाँका साथै १०० रुपैयाँ दरका नोटहरू पनि वितरण गर्ने व्यवस्था मिलाउन आग्रह गरेको छ।

चाडपर्वको बेला नयाँ तथा साना दरका नोट सटहीका लागि बैंकका काउन्टरहरूमा हुने भीडभाडलाई न्यूनीकरण गर्न र सर्वसाधारणलाई सहजता प्रदान गर्न राष्ट्र बैंकको मुद्रा व्यवस्थापन विभागले नेपाल बैंकर्स संघलाई औपचारिक पत्र लेखेको हो।

सामान्यतया हालसम्म बैंकहरूले आफ्ना एटीएम मेसिनहरूबाट ठूला दरका ५०० र १ हजार रुपैयाँका नोटहरू मात्रै झिक्ने व्यवस्था गर्दै आएका छन्।

तर सर्वसाधारणबाट एटीएममार्फत नै १०० रुपैयाँका साना नोटहरू पनि पाइनुपर्ने माग निरन्तर उठ्दै आएको र केही बैंकहरूसँग यसको प्राविधिक पक्षबारे छलफल गर्दा यस्तो व्यवस्था गर्न सम्भव देखिएकाले राष्ट्र बैंकले यो कदम चालेको हो। यस पत्राचारको बोधार्थ डेभलपमेन्ट बैंकर्स संघ नेपाल र नेपाल वित्तीय संस्था संघलाई समेत पठाइएको छ।

राष्ट्र बैंकले आग्रह गरे पनि सबै एटीएम मेसिनहरूबाट १०० रुपैयाँको नोट वितरण गर्न भने सहज नरहेको बैंकरहरूको भनाइ छ। बजारमा रहेका पुराना मोडलका एटीएम मेसिनहरूमा भित्रतिर जम्मा दुईवटा मात्रै नगद राख्ने क्यासेट वा स्थान हुने हुनाले त्यसमा हाल १००० र ५०० दरका ठूला नोटहरू मात्रै राख्ने गरिएको छ।

त्यसैले पुराना मेसिनहरूमा थप १०० दरको नोट समायोजन गर्न प्राविधिक रूपमा मिल्दैन। तर पछिल्लो समय सञ्चालनमा आएका नयाँ मोडलका एटीएमहरूमा भने चारवटा नोट राख्न मिल्ने ठाउँ उपलब्ध रहेको छ। ती नयाँ मेसिनहरूमा अहिले पनि दुईवटा स्थान मात्र प्रयोग भइरहेकोले बाँकी ठाउँमा १०० रुपैयाँका नोटहरू राखेर निकाल्न मिल्ने बनाउन सकिने बैंकरहरूले बताएका छन्।

हाल सञ्चालनमा रहेका कुल एटीएम मेसिनहरूमध्ये करिब २५ प्रतिशत नयाँ मेसिनहरूमा यो व्यवस्था गर्न सकिने र यसले दशैंको बेला साना नोटको लाग्ने लामो लाइनलाई धेरै हदसम्म घटाउने अपेक्षा गरिएको छ।