चितवन राइनोजसँग हिमालयन एभरेष्टको सहकार्य निरन्तर, एनपीएलमा दोस्रो इनिङ्स
काठमाडौँ। हिमालयन एभरेष्ट इन्स्योरेन्स लिमिटेडले नेपाल प्रिमियर लिग एनपीएलको तेस्रो सिजनका लागि चितवन राइनोजसँगको साझेदारीलाई निरन्तरता दिएको छ। योसँगै हिमालयन एभरेष्ट इन्स्योरेन्स र चितवन राइनोजबीच लगातार दोस्रो पटक सहकार्य भएको हो।
हिमालयन एभरेष्ट इन्स्योरेन्स लिमिटेडको बबरमहलस्थित मुख्य कार्यालयमा आयोजित कार्यक्रममा कम्पनीकी प्रमुख कार्यकारी अधिकृत अञ्जु श्रेष्ठ र चितवन राइनोजका अध्यक्ष आयुष न्यौपानेले सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन्।
दशैंपछि सुरु हुने एनपिएलमा राइनोजको जर्सीमा हिमालयन एभरेष्ट इन्स्योरेन्सको लोगो हुनेछ । सम्झौता कार्यक्रममा हिमालयन एभरेष्ट इन्स्योरेन्सकी प्रमुख कार्यकारी अधिकृत श्रेष्ठले नेपाली क्रिकेटको लोकप्रियता र विकासमा निजी क्षेत्रको साझेदारी महत्वपूर्ण रहेको बताइन् । उनले टिमलाई सफलताको लागि अग्रिम शुभकामना पनि दिइन्।
त्यस्तै, चितवन राइनोजका अध्यक्ष आयुष न्यौपानेले हिमालयन एभरेष्ट इन्स्योरेन्ससँगको सहकार्यलाई निरन्तरता दिन पाउँदा खुसी लागेको र आफ्नो टिमले उत्कृष्ट प्रदर्शन गर्ने लक्ष्य लिएको उल्लेख गरे ।
हिमालयन एभरेष्ट इन्स्योरेन्सले नेपाली खेलकुद तथा क्रिकेटको विकास र प्रवर्द्धनमा निजी क्षेत्रको सहभागिता आवश्यक रहेको विश्वास गर्दै विभिन्न खेल गतिविधिमा सहकार्य गर्दै आएको छ। चितवन राइनोजसँगको दोस्रो पटकको साझेदारीले कम्पनीको खेलकुद क्षेत्रप्रतिको प्रतिबद्धतालाई थप बलियो बनाउने अपेक्षा गरिएको छ।












